
डोटी ,असार ७
सुबास नेपाली
दिपायल सिलगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन तथा सुशासनलाई केन्द्रमा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको २१ औँ अधिवेशनमा नगर प्रमुख बाजी सिंह खड्का ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दिपायल सिलगढीलाई “स्वच्छ, शिक्षित र समुन्नत नगर” बनाउने लक्ष्य निर्धारण गरिएको छ।
नीति तथा कार्यक्रमले कृषिको व्यवसायीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, भूकम्प प्रभावित परिवारको पुनर्निर्माण, पर्यटन प्रवर्द्धन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। नगरभित्र खेतीयोग्य जमिन बाँझो राख्न नपाइने व्यवस्था, कपास खेती प्रवर्द्धन, शीतगृह सञ्चालनको निरन्तरता तथा भैँसी बिमा कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
शिक्षा क्षेत्रतर्फ “ग्रीन स्कुल, क्लिन स्कुल” अवधारणा कार्यान्वयन, शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन, विज्ञान संकाय सञ्चालन गर्ने विद्यालयलाई सहयोग तथा प्रस्तावित इन्जिनियरिङ क्याम्पसको पूर्वाधार निर्माणमा सहकार्य गर्ने नीति लिइएको छ। विद्यालय दिवा खाजालाई स्थानीय कृषि उत्पादनसँग जोडेर सञ्चालन गरिने जनाइएको छ।
स्वास्थ्य तथा सामाजिक सुरक्षाअन्तर्गत न्यून आय भएका एक हजार विपन्न परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गराइने, लैङ्गिक हिंसा प्रभावित महिलाका लागि सञ्चालित सेवा केन्द्रलाई निरन्तरता दिने तथा छाउपडी र जातीय छुवाछूतविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिने कार्यक्रम समेटिएको छ।

भूकम्प प्रभावित परिवारको पुनर्निर्माणलाई प्राथमिकता दिँदै ९७४ घरधुरीको पुनर्निर्माण, प्रवलीकरण तथा मर्मत कार्य अगाडि बढाउन विशेष एकाइ गठन गरिने भएको छ। साथै फुस तथा खरका छाना भएका विपन्न परिवारका लागि सुरक्षित आवास निर्माणमा संघ र प्रदेश सरकारसँग सहकार्य गरिने उल्लेख छ।
पर्यटन तथा संस्कृति संरक्षणतर्फ बडीमालिका पूजासँग सम्बन्धित दिपायलको भुरुडी तथा डोटीको पेटारो लैजाने परम्परालाई व्यवस्थित गरिने, बाइसधारा–दिल्पेश्वर मठ–सिलगढी पुरानो बजार क्षेत्रलाई सांस्कृतिक शहरका रूपमा विकास गर्ने तथा आगामी दुई वर्षभित्र सबै नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
यस्तै, नगरभित्र निर्माण हुने नयाँ घरमा राष्ट्रिय भवन संहिता अनिवार्य लागू गरिने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइने, राजस्व सुधार योजना कार्यान्वयन गरिने तथा योजना तर्जुमा र कार्यान्वयनमा नागरिक सहभागिता बढाउन “नागरिक सहभागिता नीति” लागू गरिने जनाइएको छ।
नगर प्रमुख खड्काले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था तथा आम नगरवासीको सहयोग र रचनात्मक सुझावको अपेक्षा व्यक्त गर्नुभएको छ।