
डोटी,जेठ१२
सुबास नेपाली
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीका दिन लाग्ने ‘गङ्गा–दशहरा’ मेलाको सुदूर पश्चिम पृतना हेडक्वार्टरका पृतना पति उपरथी किरण के.सीले धार्मिक परम्परा अनुसार गर्नुका त्रिवेणी र सहस्र लिंग क्षेत्रमा पूजापाठ गरेका छन्।
सुदूर पश्चिम पृतना हेडक्वार्टरका अनुसार हरेक वर्ष गङ्गा–दशहरा मेलाको अवसरमा पृतना पतिले खप्तड क्षेत्रको धार्मिक परम्परा अनुसार पूजापाठ गर्ने प्रचलन अनुरूप यस वर्ष पनि धार्मिक स्थलहरूमा पूजाआजा गरिएको हो।
खप्तड भ्रमणका क्रममा उपरथी केशीले बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका र नाट्यश्वरी,अछामको बरदादेबी तथा डोटीको शैलेश्वरी मन्दिरमा समेत दर्शन तथा पूजापाठ गरेका छन्।
गङ्गा–दशहरा मेलामा त्रिवेणीमा स्नान तथा पूजापाठ सम्पन्न गरेपछि शैलेश्वरी मन्दिरमा दर्शन गर्ने परम्परा अनुसार शैलेश्वरी पुगेका उपरथी केशीले सुदूरपश्चिममा रहेका धार्मिक तथा पर्यटकीय सम्पदाहरूको संरक्षणमा सबै पक्षको ध्यान जानुपर्ने बताएका छन्।
उनले खप्तड, बडिमालिका, नाट्यश्वरी, शैलेश्वरी, रामारोशन लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूले सुदूरपश्चिमको पहिचान र सम्भावनालाई उजागर गरेको उल्लेख गर्दै यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए।
नेपाली सेनाले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षणमा निरन्तर योगदान पुर्याउँदै आएको स्मरण गराउँदै उपरथी केशीले यी सम्पदाको दीर्घकालीन संरक्षणमा स्थानीय बासिन्दाको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे।
मेलामा सहभागी हुन आएका श्रद्धालु भक्तजन तथा पर्यटकहरूको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी पनि उनले दिए। उक्त शिविरमार्फत मेलामा आएका सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ।