
डोटी, असार १५। “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ डोटीमा २३औँ राष्ट्रिय धान दिवस–२०८३ तथा ‘भिमदत्त उत्कृष्ट कृषक’ सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।
कृषि ज्ञान केन्द्र, डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लास्थित वर्षा होटल पछाडिको खेतमा कार्यक्रम आयोजना गरिएको हो। धान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै जलवायुमैत्री कृषि प्रविधिको प्रयोग, धान उत्पादन वृद्धि तथा कृषि संस्कृतिको संरक्षणको सन्देश दिएका थिए।
कार्यक्रममा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका तीन जना कृषकलाई ‘भिमदत्त उत्कृष्ट कृषक’ सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा दिपायल सिलगढी नगरपालिका–४ की देवी खड्का कठायत, कोषराज भट्ट र कर्ण मलासी रहेका छन्। उनीहरूलाई प्रमाणपत्रसहित जनही २५ हजार नगद पुरस्कार प्रदान गर्दै कृषि क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरिएको थियो।

कृषि ज्ञान केन्द्र, डोटीका कार्यालय प्रमुख दुर्गा प्रसाद ओझाले सम्मानित कृषकहरूको मेहनत, लगनशीलता र सफलताले अन्य किसानलाई पनि व्यावसायिक तथा आधुनिक कृषि प्रणाली अपनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा कृषिमा युवा आकर्षण बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि क्षेत्रका प्राविधिक, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, कृषक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजक कृषि ज्ञान केन्द्र, डोटीले जलवायु परिवर्तनका चुनौतीलाई मध्यनजर गर्दै जलवायुमैत्री प्रविधिको प्रयोग, उन्नत बीउ, आधुनिक खेती प्रणाली तथा उत्पादन वृद्धि मार्फत धानमा आत्मनिर्भर बन्न सबै किसानलाई आग्रह गरेको छ। साथै, यस्ता सम्मान कार्यक्रमले कृषि पेशाप्रति किसानको उत्साह अभिवृद्धि गर्नुका साथै व्यावसायिक कृषि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।