
डोटी, असार १८। दलित महिला संघ (FEDO) डोटीको आयोजनामा तथाके.आई. सिंह गाउँपालिका संगको साझेदारीमा वडा नं. ५ र वडा नं. ४ मा सञ्चालन गरिएको ५ दिने On-Farm तथा Off-Farm उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। दलित तथा सीमान्तकृत समुदायका महिलाहरूको आर्थिक आत्मनिर्भरता, उद्यमशीलता विकास तथा दिगो जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा दुवै वडाका महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिममा मह्संस्थाले गठन गरेका १० वटा समुहका २५/२५ जना गरि ५० जनाको सहभागिता रहेको थियो |

तालिम वडा नं. ५ मा २०८३ असार १० गतेदेखि १४ गतेसम्म तथा वडा नं. ४ मा २०८३ असार १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको थियो। तालिममा पहिलो दुई दिन उद्यमशीलता, व्यवसाय अवसर पहिचान, व्यवसाय योजना निर्माण, वित्तीय साक्षरता, बजार व्यवस्थापन, समूह उद्यम सञ्चालन, व्यवसाय दर्ता तथा उद्यम व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो भने पछिल्ला तीन दिन स्थानीय स्रोत–साधनमा आधारित अचार उत्पादन, गुणस्तर व्यवस्थापन, खाद्य स्वच्छता, लागत निर्धारण तथा बजारीकरण सम्बन्धी व्यावहारिक अभ्यास गराइएको थियो।

तालिमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता चन्द्र सिंह धामी तथा सहजकर्ता कल्पना बम ले गर्नुभएको थियो। उहाँहरूले महिलाहरूलाई साना तथा घरेलु उद्योग स्थापना, उत्पादनको गुणस्तर सुधार, बजार प्रतिस्पर्धा, व्यवसाय विस्तार तथा स्थानीय स्रोतको सदुपयोगमार्फत दिगो उद्यम विकासका विषयमा व्यवहारिक तथा उपयोगी ज्ञान प्रदान गर्नुभयो।
वडा नं. ५ मा आयोजित औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता दलित महिला संघ, फेडो डोटीकी जिल्ला अध्यक्ष सरिता दयाली ले गर्नुभएको थियो भने वडा नं. ५ का वडा अध्यक्ष श्री दुर्गा सिंह रावल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमको उदेस्य प्रकास पार्दै दलित महिला संघ, फेडो डोटीका जिल्ला संयोजक शंकर विकले महिलामाथि हुने अधिकांश हिंसाको मूल कारण महिलाहरूको आर्थिक निर्भरता, निर्णय प्रक्रियामा न्यून सहभागिता तथा स्रोत–साधनमा सीमित पहुँच रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर, सामाजिक रूपमा सम्मानित, राजनीतिक रूपमा निर्णय प्रक्रियामा सहभागी र व्यक्तिगत रूपमा आत्मविश्वासी नभएसम्म हिंसामुक्त समाज निर्माण गर्न कठिन हुन्छ। त्यसैले महिलाको आर्थिक, सामाजिक, राजनीतिक तथा व्यक्तिगत सशक्तीकरण आजको आवश्यकता हो।”
उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर समूहमा आधारित उद्यम सञ्चालन गर्न, स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउन तथा अन्य महिलाहरूलाई समेत उद्यमशीलतामा प्रेरित गर्न आग्रह गर्नुभयो।
प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा सिंह रावल ले स्थानीय सरकारले महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता सीपमूलक तालिमहरूले महिलालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी योजना तथा बजेट निर्माण प्रक्रियामा महिला समूहलाई लक्षित उत्पादनमुखी, सीप विकास तथा उद्यम प्रवर्द्धन कार्यक्रमहरूलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, महिलाहरूले सामूहिक रूपमा उद्यम सञ्चालन गर्ने वातावरण सिर्जना गर्न वडा कार्यालय आवश्यक समन्वय र सहकार्य गर्न सधैं तयार रहने बताउनुभयो।
त्यसैगरी वडा नं. ४ मा आयोजित औपचारिक समापन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष श्री जयलाल धामी ले गर्नुभएको थियो भने के.आई. सिंह गाउँपालिकाकी उपाध्यक्ष श्रीमती मीना देवी बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष मीना देवी बिष्ट ले महिलाको आर्थिक सशक्तीकरणलाई गाउँपालिकाको विकासको महत्वपूर्ण आधारका रूपमा लिइएको बताउनुभयो। उहाँले गाउँपालिकाले निर्माण गरेको कृषि प्रवर्द्धन तथा संकलन केन्द्र लाई स्थानीय उद्यमी महिलाहरूको हितका लागि उपयोग गरिने जानकारी दिँदै भन्नुभयो, “यदि कुनै दिदीबहिनीहरूले व्यक्तिगत वा सामूहिक रूपमा स्थानीय उत्पादनमा आधारित व्यवसाय सञ्चालन गर्न चाहनुहुन्छ भने गाउँपालिकाले कृषि प्रवर्द्धन तथा संकलन केन्द्र निःशुल्क रूपमा उपलब्ध गराउनेछ। यसबाट स्थानीय उत्पादनको प्रशोधन, भण्डारण तथा बजारीकरणमा ठूलो सहयोग पुग्नेछ।”
उहाँले महिलाहरूले तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्दै स्थानीय स्रोत–साधनमा आधारित उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै गाउँपालिकाले आवश्यक समन्वय, सहकार्य तथा नीतिगत सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समापन कार्यक्रमका अध्यक्ष जयलाल धामी ले तालिमले महिलाहरूमा उद्यमशील सोच, आत्मविश्वास तथा व्यवसाय सञ्चालन गर्ने क्षमता विकास गरेको उल्लेख गर्दै आगामी वर्षदेखि महिला समूहलाई लक्षित उत्पादनमूलक, सीप विकास तथा आयआर्जन केन्द्रित योजनाहरूलाई वडा तहबाट प्राथमिकताका साथ प्रस्ताव गरी सोहीअनुसार बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिलाहरूलाई समूहमा आधारित उद्यम स्थापना गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभयो।
तालिममा सहभागी महिलाहरूले उद्यम सञ्चालन, लागत निर्धारण, बजार व्यवस्थापन, व्यवसाय दर्ता तथा गुणस्तरीय उत्पादनका विषयमा आफूहरूले पहिलो पटक व्यवहारिक रूपमा सिक्ने अवसर पाएको बताए। विशेषगरी अचार उत्पादन, प्याकेजिङ, लेबलिङ तथा बजारमा बिक्रीयोग्य उत्पादन तयार गर्ने सीपले आफ्नै गाउँघरमा आयआर्जनको अवसर सिर्जना गर्ने विश्वास उनीहरूले व्यक्त गरे।
सहभागीहरूको तर्फबाट तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै व्यक्तिगत तथा सामूहिक उद्यम सञ्चालन गर्ने, व्यवसाय दर्ता गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, महिला समूहमार्फत उत्पादन विस्तार गर्ने, अन्य महिलाहरूलाई समेत सीप हस्तान्तरण गर्ने तथा आर्थिक रूपमा आत्मनिर्भर बन्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
आयोजकका अनुसार यस तालिमले दलित तथा सीमान्तकृत समुदायका महिलाहरूको आर्थिक, सामाजिक, राजनीतिक तथा व्यक्तिगत सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै स्थानीय सरकार, सम्बन्धित निकाय र महिला समूहबीचको सहकार्यलाई थप मजबुत बनाउँदै महिला उद्यमशीलताको दिगो विकासमा समेत कार्यक्रमले सकारात्मक आधार तयार गरेको आयोजकको अपेक्षा रहेको छ।