
डोटी ,भाद्र १५
दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा लैंगिक समानता सम्बन्धी अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ।
कार्यक्रममा महिला तथा पुरुष दुवैको सहभागिता रहँदा लैंगिक हिंसा सम्बन्धी समस्या र त्यसलाई न्यूनीकरण गर्न पुरुषहरूको भूमिका तथा जिम्मेवारीका साथसाथै जातिय विभेद न्यूनीकरण सम्बन्धी विस्तृत छलफल गरिएको थियो।
छलफलको उद्देश्य परिवार र समाजमा पुरुष–महिला बीचको सम्मानजनक र सुखद सम्बन्ध निर्माण गर्दै पुरुषहरूको सक्रिय संलग्नता मार्फत महिला सशक्तिकरण र लैंगिक समानतालाई प्रवर्द्धन गर्नुका साथसाथै समाजमा रहेको जातिय विभेद न्यूनीकरणमा सरोकारवालाको भुमिका सम्बन्धि छलफल भएको दलित महिला संघ फेडोका जिल्ला कार्यक्रम संयोजन संकर विश्वकर्माले बताए।

सहभागीहरूले पुरुषहरूको भूमिका घरायसी काममा बराबरी योगदान, छोराछोरीप्रति समान व्यवहार, महिलाको निर्णय प्रक्रियामा सम्मानजनक सहभागिता, असमान व्यवहारप्रति प्रतिवाद, साथी–समुदायलाई लैंगिक संवेदनशील बनाउन सक्रियता, महिलाको भविस्य र निर्णयलाई समर्थन, घरेलु हिंसा, यौन हिंसा तथा जबर्जस्ती विवाह विरुद्ध स्पष्ट आवाज, जातिय विभेदका साथै समाजमा प्रचलित “पुरुष रुनु हुँदैन” वा “महिलाले मात्र घरको काम गर्छिन्” जस्ता गलत धारणालाई हटाउनेतर्फ हुनुपर्ने सुझाव दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला संयोजक शंकर विश्वकर्माले भन्नुभयो, “लैंगिक समानता तब मात्र सम्भव हुन्छ जब पुरुषहरू सहयात्रीका रूपमा अघि सर्छन्। पुरुषहरू सहयोगी मात्र नभई परिवर्तनका नेतृत्वकर्ता बन्नुपर्छ। समावेशी, न्यायपूर्ण र सन्तुलित समाज निर्माणका लागि पुरुषहरूको सक्रिय भूमिका अपरिहार्य छ।”
उक्त अन्तरक्रियामा ३५ जना सहभागी भएका थिए। आयोजकका अनुसार कार्यक्रममा भएको छलफलले लैंगिक समानता प्रति सकारात्मक धारणा विकासमा टेवा पुर्याएको छ।