
डोटी ,चैत्र ०१
सुबास नेपाली
देशका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि बढ्दै गएका बलात्कार तथा हत्या घटनाप्रति चिन्ता व्यक्त गर्दै डोटीका सरोकारवालाहरूले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
स्थानीय सरोकारवाला निकाय र अधिकारकर्मीहरुले गृहमन्त्रीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत उक्त ध्यानाकर्षण पत्र पठाएका हुन्।
पत्रमा हालै कंचनपुर ,बैतडी र सुर्खेत जिल्लामा बालिकामाथि भएको सामूहिक बलात्कारको घटनाप्रति गम्भीर दुःख र आक्रोश व्यक्त गरिएको छ।
यस्तै,ध्यानाकर्षण पत्रमा फागुन २३ गते सुर्खेतकि १६ वर्षीया किशोरी इन्सा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटना, कैलालीसहित विभिन्न जिल्लामा भएका महिला हिंसाका घटनाहरू उल्लेख गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ।

पत्रमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाले समाजको सुरक्षा संरचना र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक रूपमा महिला तथा बालबालिका बलात्कारको शिकार हुने गरेको भन्दै राज्यले सुरक्षा र न्याय सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ।
साथै यस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई कुनै पनि प्रकारको राजनीतिक, प्रशासनिक वा सामाजिक संरक्षण नदिई प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ। पीडितलाई न्याय दिलाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले ठोस कदम चाल्नुपर्ने पत्रमा उल्लेख गरिएको छ।
ध्यानाकर्षण पत्र जिल्ला स्थित दलित महिला संघ फेडो,सम बिकास केन्द्र ईडिसी नेपाल,ओरेक ,स्वतन्त्र विद्यार्थी युनियन लगायतका प्रतिनिधिहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन।