
असोज ७,डोटी
सुबास नेपाली
दिपायल सिलगढि नगरपालिकाले दसैँ, तिहार लगायतका चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन तीव्र पारेको छ ।
दिपायल सिलगढि नगरपालिकाकि उप प्रमुख कलावति महर साउदको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी, नापतौल तथा गुणस्तर कार्यालय डोटी , उद्योग वाणिज्य संघ,जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय डोटीको साझेदारीमा दिपायल सिलगढी नगरपालिकाको वडा नं ६ र ८ बजार क्षेत्रमा संयुक्त अनुगमन गरिएको छ ।

चाडपर्वको बेला बजारमा कालोबजारी बढी हुने र म्याद गुज्रेका अखाद्य वस्तुहरु बिक्री वितरण रोक्न र मूल्य वृद्धिलाई नियन्त्रण गर्न बजार अनुगमन थालिएको दिपायल सिलगढि नगरपालिकाकि नगर उप प्रमुख कलावति महर साउदले बताउनुभयो।
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले समय समयमा बजार अनुगमन गर्दै आएको र चाडपर्वमा खाद्यान्न वस्तुको मुल्य वृद्धि र अखाद्य वस्तुको बिक्रीवितरण बढि हुने भएका कारण बजार अनुगमनले ब्यापारीहरुलाई सचेत गराउन सहयोग पुगेको स्थानीय ब्यापारी रबिन्द्र बोगटीले बताउनुभयो ।
अनुगमन टोलीले स्थानीय बजारका पसल ,होटेल ,मासुपसल अनुगमन गर्नुका साथै मूल्यसूची, सरसफाइ र म्याद गुज्रिएका सामानको अवस्था जाँच गरेको थियो।
उपभोक्ताको स्वास्थ्य र कालोबजारी नियन्त्रण गर्न नगरपालिकाले बजार अनुगमनलाई ९ वटै वडामा तिब्र पारिने जनाएको छ।