
असोज १३,डोटी
डोटीको सदरमुकाम सिलगढि स्थित नेपाली सेनाको भैरव प्रसाद गणले पनि हिन्दु धर्मको परम्परागत संस्कृति र आफ्नो प्रचलन अनुसार सलामी दिदै फुलपाती भित्र्याएको छ ।
जिल्ला सदरमुकाम सिलगढी स्थित शैलेश्वरि मन्दिरबाट माता शैलेश्वरि भगवतीको पुजा आराधना तथा कालिका मन्दिरमा कुपिण्डोको बलि दिई सेनाको ब्यारेकभित्र फूलपाती भित्र्याएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कमल सिंह बिस्टले बताउनुभयो।
प्रत्येक वर्ष दुर्गा पक्ष आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।