
असोज २५,डोटी
मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न माग राख्दै दिपायल सिलगढी नगरपालिका लाई ज्ञापनपत्र बुझाईएको छ।
दिपायल सिलगढी नगरपालिकामा संचालित शसक्त महिला समृद्द नेपाल परियोजनाका जिल्ला संयोजक टिकेन्द्र प्रसाद भण्डारीको संयोजकत्व तथा टि पि ओ नेपाल संगको समन्वयमा बिश्व मानसिक स्वास्थ्य दिवस १० अक्टोबर २०२५ को सन्दर्भ पारी मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न ८ वटा माग राख्दै दिपायल सिलगढी नगरपालिकाकि नगर उप- प्रमुख कलावति महर साउदलाइ ज्ञापन पत्र बुझाईएको हो।
ज्ञापनपत्रमा
१) मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोगका लागि आवश्यक लैङ्गिक उत्तरदायी नीति निर्माण, कार्ययोजना बनाउने तथा आवश्यक स्रोतहरुको व्यवस्था गर्ने ।
२) स्थानीय तहबाट नै मानसिक स्वास्थ्यका लागि आवश्यक बजेट व्यवस्थापन गरी स्वास्थ्यकर्मी, शिक्षक, सामाजिक कार्यकर्ताहरु तथा स्वयमसेवकहरुको क्षमता अभिवृद्धि (तालीम तथा क्लिनिकल सुपरीवेक्षण), जनचेतनामूलक कार्यकम, आवश्यक औषधी खरिद, प्रेषण सेवा, पुनर्स्थापना तथा पुनर्मिलन सेवा सञ्चालन गर्न बजेट विनियोजन गर्ने ।
३) मानसिक स्वास्थ्यका हिसाबले जोखिममा रहेका विशेषगरी द्धन्द्ध तथा हिंसा प्रभावित, संरक्षणको सवाल र विपद्को जोखिममा रहेका नागरिकलाई अन्य आवश्यक सेवासँगै अनिवार्य रुपमा मनोसामाजिक सहयोगको व्यवस्था मिलाउने ।
४) समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यकम प्रवर्द्धनात्मक, रोकथाममूलक, उपचारात्मक र पुनर्स्थापनात्मक) तर्जुमा र कार्यान्वयन गर्न नेतृत्वदायि भूमिका निर्वाह गर्ने ।
५) मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र परिवारका सदस्य प्रतिको लाञ्छना, भेदभाव, अवहेलना कम गर्न र मानवअधिकारको संरक्षण गर्न स्थानीय तहमा नीति बनाई कार्यान्वयनमा ल्याउने ।
६) मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि एकद्धार नीति अवलम्बन गरी स्थानीय स्तरका सरकारी, गै.स.स./राष्ट्रिय स्तरका विशेषज्ञ संस्था तथा अन्य सरोकारवालासँग साझेदारी गरी एक द्वार प्रणाली मार्फत न्यूनतम मापदण्ड बनाइ कार्यकमहरु सञ्चालन गर्ने ।
७) केन्द्रिय तथा प्रादेशिक सरकारसँग समन्वय गरी मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धि कार्यक्रमहरु आफ्नो पालिकामा ल्याउन पैरवी गरी जनस्वास्थ्यका अन्य कार्यक्रमहरुसँगै यसलाई पनि समायोजन गर्दै लैजाने ।
८) कार्यक्रमको प्रभावकारिताको लागि स्थानीय स्तरमा अधिकार सम्पन्न समन्वय समिति गठन गरी कार्यान्वयन गरिएका कार्यक्रमहरुको प्रभावकारीताको नियमित अनुगमन तथा सुपरिवेक्षण गर्ने जस्ता मागहरु समाबेश गरिएको टि पि ओ नेपालकी प्रतिनिधि निरा बिकले बताईन।
मानसिक स्वास्थ्यको प्रवर्द्धनमा हामी सबैको दायित्व रहने र यस विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्ति, परिवारजन, नातेदार, समुदायका व्यक्ति, विभिन्न संघ-संस्था, समूह, विद्यालय, दातृनिकाय, स्थानीय तह, प्रदेश तथा संघिय सरकारका सम्बद्ध निकायहरु एक अर्कामा हातेमालो गरी हरेक उमेर, वर्ग, समुदाय, पेशामा रहेका व्यक्तिहरुको मानसिक स्वास्थ्य समस्यालाई सबैले हातेमालो गरी सम्बोधन गर्न अत्यन्त आवश्यक रहेको शसक्त महिला समृद्द नेपाल परियोजनाका जिल्ला संयोजक टिकेन्द्र प्रसाद भण्डारीले बताए।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मिको उपस्थिति रहेको थियो।