
तिर्थ नेपालि/
कात्तिक १५
अछाम जिल्लाको चौरपाटी गाउँपालिका–६, चौखुट्टे बजारका स्थानीय युवाहरूले तिहारमा भैलो खेलेर संकलन गरेको रकमलाई सामाजिक सेवामा उपयोग गर्दै उदाहरणीय पहल गरेका छन्।
युवाहरूले भैलोबाट जम्मा भएको १६ हजार रुपैयाँ सिद्धबाबा मन्दिर र राधा–कृष्ण मन्दिरमा रङरोगन गर्न प्रयोग गरेका हुन्।
यस सामाजिक कार्यको मुख्य भूमिका झकर मन साउद, तेज साउद, सरोज साउद, लोकेन्द्र साउद, दिनेश साउद, हिक्मत साउद टंक आउजी र शिब आउजी लगायतका युवाहरूले निर्वाह गरेका थिए।

स्थानीय केसर साउदका अनुसार, तिहारको अवसरमा केवल चौखुट्टे बजारमै भैलो खेलेर उक्त रकम संकलन गरिएको थियो। उनले भने, “हामीले मनोरञ्जनका साथ–साथै केही सामाजिक काम पनि गर्ने सोच राख्यौं। त्यसै क्रममा धार्मिक स्थलहरूलाई सुन्दर बनाउन रङरोगन गर्ने निर्णय गर्यौं।”
मन्दिरहरूमा गरिएको रङरोगनपछि बजारको सौन्दर्य अझ बढेको स्थानीयवासीहरूको भनाइ छ। उनीहरू युवाहरूको सामूहिक प्रयास र सामाजिक चेतनाप्रति गर्वित बनेका छन्।
“आजका युवाहरूले परम्परागत चाडपर्वलाई मनोरञ्जन मात्र नभई सामाजिक योगदानसँग जोड्नु सकारात्मक पहल हो। यसले गाउँमा एकता र धार्मिक सद्भाव बढाएको छ। समाजसेवि राम बं. आउजी ले बताउनु भयो ।
युवाहरूले आगामी वर्षहरूमा पनि यस्ता सामुदायिक तथा धार्मिक गतिविधिहरूलाई निरन्तरता दिने योजना बनाएका छन्। उनीहरूको यो कार्यले ग्रामीणस्तरमै सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको सन्देश दिएको छ।