
डोटी ,पौष ०८
सुबास नेपाली
अगुवा महिला नेता ( च्याम्पियन) हरूलाई लक्षित गरी मर्यादित महिनावारी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
डीसीएको सहयोग तथा सम विकास केन्द्र (इडीसी) नेपालको आयोजनामा चार दिनसम्म सञ्चालन भएको तालिम डोटीको पिपल्ला बजार, दिपायलमा सम्पन्न भएको हो ।
तालिमकी मुख्य प्रशिक्षक मर्यादित महिनावारीकी विश्व अभियानकर्ता डा. राधा पौडेल रहनु भएको थियो भने सहायक प्रशिक्षक गोविन्द खड्का रहनु भएको थियो ।

मुख्य प्रशिक्षक डा. पौडेलले महिनावारी विभेद केवल एउटा सामाजिक समस्या नभई सबै प्रकारका विभेदहरूको जड भएको स्पष्ट पार्नुभयो । उहाँले अनुसन्धानमा आधारित तथ्य र व्यवहारिक अभ्यासमार्फत महिनावारी विभेद कसरी लैंगिक हिंसा, घरेलु हिंसा र मानव अधिकार हनन हो भन्ने कुरा सहभागीहरूलाई बुझाउनु भएको थियो।
डा. पौडेलले सुदूरपश्चिमलाई ‘छाउपडी’ को भाष्यका नाममा सिंगो देशले नै हेपिरहेको टिप्पणी गर्दै भन्नुभयो, “महिनावारी विभेद यही मात्रै छ भन्ने गलत दृष्टिकोणले सुदूरपश्चिमलाई बदनाम गरिएको छ । विभेद देशव्यापी छ, तर दोष सधैं यही क्षेत्रलाई दिइयो ।”
उहाँले महिनावारीको रगत शुद्ध, पवित्र र जीवनदायी रहेको वैज्ञानिक आधार प्रस्तुत गर्दै भन्नुभयो, “यही रगतबाट मानिस जन्मिन्छ । महिनावारी भएको ५ दिन र नभएको २५ दिन फरक व्यवहार गरिनु नै विभेद हो, र त्यो विभेद हिंसा पनि हो ।”
तालिममा दक्षिण गोलाद्धीय मर्यादित महिनावारी सञ्जालका सञ्चार सल्लाहकार तथा सहायक प्रशिक्षक गोविन्द खड्काले महिनावारी विभेद सुदूरपश्चिमभन्दा काठमाडौं, मधेस र देशका अन्य भागमा अझै व्यापक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभर समान अभ्यासहरू छन, के खाने, के नखाने, के छुन हुने, के नहुने,हिँडडुल, बोलचाल, हेर्ने नहेर्ने, तर ‘छाउपडी’ शब्दलाई गोठसँग मात्रै जोडेर सुदूरपश्चिमलाई अपमान गरियो ।”
खड्काले ‘छाउपडी’ शब्दको अर्थ महिनावारी हुने व्यक्ति नै भएको स्मरण गराउँदै, “यदि हामीले विभेदलाई विस्थापित गरी ‘महिनावारी’ शब्द मात्रै प्रयोग गर्यौ भने सुदूरपश्चिमले अनावश्यक हेपाइ कम सहनुपर्छ,” भन्नुभयो ।
तालिममा सहभागी महिलाहरूले पहिलो पटक महिनावारी विभेद आफैँमाथि भएको हिंसा र संविधानले दिएको मानव अधिकारको उल्लंघन भएको बुझेको प्रतिक्रिया दिए । उनीहरूले मर्यादित महिनावारी यात्राको शुरुवात आजैबाट भएको घोषणा गर्दै आफ्ना घर, परिवार र गाउँलाई मर्यादित महिनावारीमैत्री बनाउने प्रतिबद्धता जनाए ।
सहभागिले भने, “महिनावारी हामीले लुकाउन सिक्यौं, डराउन सिक्यौं र विभेद सहन सिक्यौं । अब हामी सहँदैनौ ।”
सम विकास केन्द्र (इडीसी) नेपालका कार्यक्रम संयोजक टेक नेपालीले महिनावारी विभेदको गम्भीरता र मर्यादित महिनावारीको अवधारणा आफूले पहिलो पटक गहिरोसँग बुझेको स्वीकार गर्नुभयो । “हामीले बुझेका छौं भन्ने लागेको थियो, तर वास्तवमा हामीले बुझेका रहेनछौं,”
उहाँले भन्नुभयो ।
चारदिने प्रशिक्षक प्रशिक्षणले सहभागी महिला अगुवाहरूलाई स्थानीय तहमा परिवर्तनका च्याम्पियनका रूपमा तयार पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
तालिममा के.आई. सिंह गाउँपालिका र शिखर नगरपालिकाका २५ जना महिला अगुवाहरू सहभागी थिए । सहभागीहरू स्थानीय तहमा नेतृत्वदायी भूमिकामा रहेका महिला प्रतिनिधि तथा सामाजिक अगुवाहरू हुन् ।