Baduli News

दिपायल सिलगढी नगरपालिकाको २०औं नगर अधिवेशन सम्पन्न।

डोटी ,पुष ०८
सुबास नेपाली

दिपायल सिलगढी नगरपालिकाको २०औं नगर अधिवेशन आज सम्पन्न भएको छ।

नगर प्रमुख बाजी सिंह खड्काको सभापतित्वमा सम्पन्न अधिवेशनले १ करोड ९६ लाख रुपैयाँको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको हो।


नगर प्रमुख बाजी सिंह खड्काले राज्यका स्रोत साधन जनतासम्म पारदर्शी, मितव्ययी र प्रभावकारी ढंगले पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको बताउँदै स्रोतको चुहावट रोक्न जनप्रतिनिधि र कर्मचारीहरू सचेत भएर अघि बढिरहेको उल्लेख गर्नुभयो।
खानेपानीको समस्या रहेका स्थानहरूमा बृहत् खानेपानी आयोजनामार्फत समस्या समाधानको काम भइरहेको नगरपालिकाले जनाएको छ। साथै महिला सशक्तीकरणका लागि विभिन्न परियोजनामार्फत काम अघि बढाइएको नगर प्रमुख खडकाले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले नगरपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै विकास निर्माणका कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो।अधिवेशनले शान्ती सुरक्षालाई मध्यनजर गर्दै राजपुर र पिपल्ला बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान, सर्पदंश उपचार केन्द्र स्थापना, भौतिक संरचना निर्माण, तथा महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।
नगरपालिकाले जनताका प्रत्यक्ष सरोकारका विषयहरूलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरू समावेश गरेको पनि प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाई रहेको छ।
अधिवेशनमा दिपायल सिलगढी नगरपालिकाका जनप्रतिनिधिहरूले आ–आफ्नो धारणा राखेका थिए।

By badulinews

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.