Baduli News

डोटी जिल्लालाई खोरेत रोगमुक्त बनाउने उद्देश्यले खोप अभियान तीव्र।

,पौष १२
सुबास नेपाली
डोटी जिल्लालाई खोरेत रोगमुक्त बनाउने उद्देश्यले खोप अभियानलाई तीव्रता दिइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा डोटीका नौ वटै स्थानीय तहको समन्वयमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो।
मंसिर ५ गतेदेखि सुरु भएको खोप अभियानलाई प्रभावकारी बनाउन तथा हालसम्मको प्रगतिको समीक्षा गर्ने उद्देश्यले नौ वटै पालिकाका खोपकर्ताहरू, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
जिल्लालाई खोरेत रोगमुक्त बनाउने लक्ष्यसहित नौ वटै पालिकामा आठ हजारका दरले कुल ७२ हजार डोज खोप वितरण गरिएको छ। जसमध्ये हालसम्म ४० हजार डोज खोरेत रोगविरुद्धको खोप लगाइसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. खड्क बहादुर कठायतले जानकारी दिनुभयो।

नेपाल सरकारको चीनमा भैंसी निर्यात गर्ने दीर्घकालीन लक्ष्यलाई मध्यनजर गर्दै खोरेत रोगविरुद्धको खोपको प्रभावकारिता बढाउन अभियानलाई तीव्र पारिएको पनि उहाँले बताउनुभयो।
खोरेत रोगका कारण पशुपालक किसानका पशुचौपायामा समय–समयमा समस्या देखिने गरेको भन्दै खोप अभियानले किसानलाई हुने क्षति न्यूनीकरण गर्ने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो। उहाँले यो अभियान सरकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग सम्बन्धित रहेको उल्लेख गर्दै लक्षित परिणाम हासिल गर्न खोपकर्ताहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। साथै उहाँले सबै मापदण्ड पालना गर्दै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभयो।
खोरेत रोगका कारण पशुपालक किसानहरूमा निराशा बढिरहेको सन्दर्भमा सरकारले सञ्चालन गरेको यो अभियानले एकातिर सरकारी लक्ष्य पूरा गर्ने र अर्कोतिर किसानको आर्थिक अवस्था सुधार गर्न सहयोग पुर्‍याउने जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताउनुभयो। उहाँले स्थानीय तहहरूले यो अभियानलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीको आयोजनामा आजै डोटी जिल्लाका ९ वटै स्थानीय तहका पशु शाखा प्रमुख तथा प्राविधिकहरूसँग जिल्लाको पशु स्वास्थ्य अवस्था सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ।
बैठकमा जिल्लामा हालसम्म पशु स्वास्थ्यका क्षेत्रमा भएका क्रियाकलापहरूको समीक्षा गर्दै विद्यमान समस्या, चुनौती र तिनका सम्भावित समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। साथै पशु रोग नियन्त्रण, खोप अभियान, प्राविधिक समन्वय र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

By badulinews

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.