Baduli News

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न।

डोटी ,पौष १२
सुबास नेपाली
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं ७ पाकरी र पुर्वीचौकी गाउँपालिका वडा नं २ बग्लेखमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिलगढीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा बचत, ऋण, ब्याजदर, किस्ता, बीमा तथा वित्तीय सेवासम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो। साथै आम्दानी, खर्च, बचत र लगानीको सही योजना बनाउन सहयोग पुर्‍याउने, ऋणलाई उत्पादनमूलक कार्यमा प्रयोग गर्ने बानीको विकास गराउने, नियमित बचतको महत्व बुझाई भविष्यका जोखिम सामना गर्न सक्षम बनाउने उद्देश्य राखिएको शाखा प्रबन्धक गणेश पौडेलले बताए।

त्यसैगरी साना उद्यम, स्वरोजगार तथा आयआर्जन गतिविधिमा सहभागी गराउने, बीमा, आपतकालीन कोष र वित्तीय सुरक्षाबारे जानकारी दिने, वित्तीय ठगी, अत्यधिक ब्याज र अनावश्यक ऋणको जोखिमबारे सचेत गराउने तथा ग्रामीण, महिला, दलित र पिछडिएका समुदायलाई औपचारिक वित्तीय प्रणालीसँग जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रमकै अवसरमा दिपायल सिलगढी नगरपालिका वडा नं ७ का दुई जना सदस्यलाई पहिरोका कारण घर क्षति भएबापत ५ हजार रुपैयाँ तथा श्रीमानको मृत्यु पश्चात् क्रियाखर्चका लागि ५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिए।
वित्तीय साक्षरता कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नं ७ पाकरीमा १ सय ४५ जना र पुर्वीचौकी गाउँपालिका वडा नं २ बग्लेखमा १ सय ३० जना सदस्यको सहभागिता रहेको थियो।

By badulinews

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.