
केआई सिंह गाउँपालिका–१ की चन्नरी लुहारको जीवन एक समय सामाजिक कुप्रथाले भरिएको थियो। महिनावारी हुँदा अलग छाउगोठमा बस्नुपर्ने, दूध–दही खान नपाइने, घरको चर्पी प्रयोग गर्न निषेध — यी सबै कारणले उनले बाघ, भालु, सर्पको डरसँगै मानसिक यातना सहनुपर्यो।
तर यो अवस्था धेरै समय टिकेन। सम विकास केन्द्र नेपाल अन्तरगत DCA को सहयोगमा सञ्चालित पहुच परियोजना अन्तर्गत गठन भएको सचेतना महिला समूहमा आवद्ध भएपछि चन्नरीको जीवनमा परिवर्तनको ढोका खुल्यो।
समूहमा हुने छलफल चौतारी मार्फत महिनावारीसँग सम्बन्धित कुप्रथा, कानुनी व्यवस्था र स्वास्थ्यका विषयमा जानकारी मिळेपछि चन्नरीले परिवर्तन आफ्नै घरबाट सुरु गर्ने निर्णय गरिन्।
घरमा धामी ससुरा भएकाले यो प्रथा तोड्न निकै कठिन थियो। तर उनले धैर्यपूर्वक कानुनी अधिकार, स्वास्थ्य जोखिम र कुप्रथाका नकारात्मक असर बारे बुझाउँदै गइन्। अन्ततः ससुरा पनि सहमत भए।
महिनावारी हुँदा छाउगोठमा होइन, आफ्नै घरभित्र बस्छिन्
दूध, दहीजस्ता पोषिलो खानेकुरा नियमित खाने गर्छिन्।
महिनावारीलाई लुकाउने होइन, सम्मानपूर्वक व्यवहार गर्ने बानि बसालिन्।
समाजमा महिनावारीका कुप्रथा विरुद्ध सचेतना फैलाउने अग्रणी महिला बनिन्।
चन्नरीको साहस र परिवर्तनले गाउँकै महिलाहरूलाई प्रेरणा दियो।
आज धेरै महिलाहरु—महिनावारी हुँदा घरभित्र बस्छन्,
पोषिलो खानेकुरा खान थालेका छन्,
महिनावारी सम्बन्धी कुप्रथाबारे खुलस्त बोल्न थालेका छन्।
चन्नरी लुहारको कथा केवल व्यक्तिगत परिवर्तन मात्र होइन, सम्पूर्ण समुदायको सोच परिवर्तन गर्ने कदम हो। सामाजिक कुप्रथा तोड्न सकिन्छ भन्ने प्रमाण उनले आफ्नै जीवनले देखाइन्।