
डोटी ,चैत्र १
सुबास नेपाली
गर्मीयाम सुरु भएसँगै हुन सक्ने बन डढेलोको जोखिमलाई मध्यनजर गर्दै डोटीमा बन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी चेतनामूलक गोष्ठी सम्पन्न भएको छ। डिभिजन बन कार्यालय डोटीको आयोजनामा बन डढेलो व्यवस्थापन सप्ताहको अवसर पारेर उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमबारे जानकारी दिँदै वरिष्ठ बन अधिकृत गोपिकृष्ण जोशीले गर्मीयाममा बन क्षेत्रमा आगलागीको सम्भावना बढी हुने भएकाले समयमै सचेतना फैलाउन गोष्ठी आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार बन डढेलोबाट वातावरण, जैविक विविधता र स्थानीय जनजीवनमा ठूलो असर पर्ने भएकाले यसको नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक छ।
गोष्ठीमा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बन डढेलोबाट हुने वातावरणीय तथा आर्थिक क्षतिबारे जानकारी दिँदै यसको रोकथामका उपायहरू, सामुदायिक वनको संरक्षण र आगलागी हुन नदिन अपनाउनुपर्ने सावधानीका विषयमा विस्तृत छलफल गरिएको थियो।
वरिष्ठ बन अधिकृत जोशीले बन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकार, सुरक्षानिकाय तथा वन उपभोक्ता समितिहरूबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय समुदायको सक्रियता बिना बन संरक्षण सम्भव नहुने उल्लेख गर्दै आगलागी भएको अवस्थामा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र नेपालले बन डढेलो नियन्त्रण तथा सुरक्षासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले बन डढेलो नियन्त्रणका क्रममा सुरक्षाकर्मी, स्थानीय तह र समुदायबीच सहकार्य अत्यन्त आवश्यक हुने बताउनुभयो।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिका भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बन संरक्षण तथा डढेलो नियन्त्रणका लागि सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमबाट स्थानीय समुदायमा बन डढेलोको जोखिम र त्यसको नियन्त्रणका उपायबारे थप चेतना फैलिने अपेक्षा गरिएको आयोजकले जनाएको छ