केआई सिंह गाउँपालिका–१ की सुन्तली लुहार एक एकल महिला हुन्। पाँच वर्षअघि श्रीमानको निधन भएपछि उहाँको जीवन असाध्यै कठिन बन्यो। घरमा ६ जनाको परिवार, छोराछोरीको पढाइ, दैनिक खर्च– सबै श्रीमानकै भरमा चल्ने गरेको थियो। श्रीमान बितेपछि परिवार पाल्न, बालबालिकाका लागि किताब–कापी जुटाउनसमेत समस्या पर्ने अवस्थाले उहाँ मानसिक र आर्थिक दुवै रूपले थला परेकी थिइन्।
यही बीच सम विकास केन्द्र नेपाल अन्तर्गत डिसिए को सहयोगमा सञ्चालित पहुंच परियोजना अन्तर्गत गठन भएको सचेतना महिला समूहमा उहाँ आवद्ध हुनुभयो। समूहमा जोडिएपछि परियोजनाबाट उहाँलाई ४ वटा बाख्रा सहयोग स्वरूप प्रदान गरियो। यही ४ वटा बाख्राले सुन्तलीको जीवनमा नयाँ आशा बोकेर आयो।
उहाँले मिहिनेतसाथ बाख्रा पालन गर्नुभयो। बाख्राबाट उत्पादन भएका बोका–खसी बेचेर आएको आम्दानीले उहाँले छोराछोरीलाई पढाउन थाल्नुभयो। आर्थिक अभावका कारण भारत पठाएका जेठा छोरालाई पनि बाख्रा पालनले राम्रो आय हुने भएपछि घर फर्काउन सक्नुभयो। अहिले उहाँका छोराले कक्षा १२ मा अध्ययन गरिरहेका छन् भने अर्को छोरा अध्ययनका लागी धनगढी पठाएकी छिन र छोरी स्थानिय बिधालयमा अध्ययन गरिरहेकी छिन। बाख्रा पालनबाट घरखर्च चलाउने मात्र होइन, सुन्तलीले केही रकम बचत गर्न पनि सफल हुनुभएको छ। आज उहाँ आफ्नो परिवारलाई आत्मविश्वाससहित अगाडि बढाइरहेकी छिन्।
सुन्तली लुहारको कथा प्रमाण हो—सही अवसर, मिहिनेत र सीपले जीवनका कठिनाइलाई जित्न सकिन्छ।
शिखर नगरपालिका–१० की हरु देवी बलायरका लागि आठ वर्षअघि श्रीमानको मृत्यु जीवनको सबैभन्दा ठूलो चोट मात्र होइन, जिम्मेवारीको पहाड पनि बनेर आयो। घरको भर पर्ने मान्छे गुमेपछि दुई छोरासहित तीन जनाको परिवार पाल्न निकै कठिन भयो। दैनिक ज्याला–मजदुरीमै निर्भर रहँदै जसो–तसो गुजारा चलाउँदै आएकी उनी स्वास्थ्य समस्या बढ्दै गएपछि मजदुरी गर्न पनि असमर्थ हुँदै गइन्। त्यसपछि त परिवारमा नै संकटमा पर्यो।
यही बीच तीन वर्षअघि सम विकास केन्द्र नेपाल र डिसिए को सहयोगमा सञ्चालित पहुंच परियोजना अन्तर्गत उनले चारवटा बाख्रा सहयोग स्वरूप प्राप्त गरिन्। यही सानो सुरुवातले उनको जीवनमा नयाँ मोड आयो। समयक्रममा बाख्राहरू बढ्दै गए, उनले खसी–बोका बिक्री गर्न थालिन्। बाख्रापालनबाट आएको आम्दानीले उनले घरमा आवश्यक भाँडा–कुडा किनिन्, अलिकति सुन जोडिन्, र केही जग्गा पनि थप्न सफल भइन्।
आज बाख्रा पालन नै उनको जीवनको मुख्य आधार बनेको छ। कठिन परिस्थिति, आर्थिक अभाव र स्वास्थ्य समस्यामाझ पनि नहारेकी हरु देवीको यो यात्रा साहस, निरन्तरता र सही सहयोग पाउँदा जीवन फेरिन सक्छ भन्नेको प्रेरणादायी उदाहरण बनेको छ।
घरायसी काम, बालबालिकाको स्याहार–संभार र सानो–ठुलो जिम्मेवारीहरू सँभाल्दै शिखर नगरपालिका–१० की पुस्पा ताम्राकारको दैनिकी निकै व्यस्त बन्दै आएको थियो। पहिले उनी घरमै बसेर सानोतिनो सिलाउने काम गर्थिन् । आम्दानी स्थिर नभएकाले परिवार चलाउन कहिलेकाहीँ कठिनाइ हुने गर्थ्यो।
सम विकास केन्द्र नेपाल र डिसिए को सहयोगमा सञ्चालित ‘पहुंच परियोजना’ अन्तरगत गठन भएको महिला समूहमा आवद्ध भएपछि पुस्पाको जीवनमा नयाँ मोड आयो। समूहमार्फत क्षमता वृद्धि प्रशिक्षण, पछिल्लो अवस्थाका बारेमा सचेतना तथा व्यावसायिक सहजीकरण पाएपछि उनी आफ्नो सीपलाई व्यवस्थित रूपमा अघि बढाउन प्रेरित भइन्।
समूहको सिफारिस र परियोजनाबाट प्राप्त सहायताले उनले सिलाई पसल सञ्चालन गर्ने सपना साकार पारिन्। तीन वर्षअघिदेखि उनले बान्डुङगृ सैनमा आधुनिक सिलाइ सेवासहित कस्मेटिक पसल पनि सञ्चालन गरिरहेकी छिन्।
सुरुमा सामान्य लगानी र न्युन ग्राहकबाट सुरु भएको व्यवसाय अहिले पुस्पाको स्थिर आम्दानीको मुख्य स्रोत बनेको छ। उनी दैनिक रूपमा ग्राहकहरूका कपडा सिलाउने, मर्मत गर्ने तथा कस्मेटिक सामान बिक्रीबाट राम्रो आम्दानी गरिरहेकी छिन्।
पुर्वादर्शी सोच, लगनशीलता र समूहको सहयोगले आज पुस्पा ताम्राकार आर्थिक रूपमा सशक्त मात्रै भएकी छैनन्, गाउँकै महिलाहरूका लागि प्रेरणादायी उद्यमीको रूपमा स्थापित भएकी छिन्।
उनको सफलताले देखाएको छ— अवसर र सहि मार्गदर्शन पाए महिलाहरूले आफ्नो क्षमता उपयोग गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्नेछन्।
केआई सिंह गाउँपालिका–१ की चन्नरी लुहारको जीवन एक समय सामाजिक कुप्रथाले भरिएको थियो। महिनावारी हुँदा अलग छाउगोठमा बस्नुपर्ने, दूध–दही खान नपाइने, घरको चर्पी प्रयोग गर्न निषेध — यी सबै कारणले उनले बाघ, भालु, सर्पको डरसँगै मानसिक यातना सहनुपर्यो। तर यो अवस्था धेरै समय टिकेन। सम विकास केन्द्र नेपाल अन्तरगत DCA को सहयोगमा सञ्चालित पहुच परियोजना अन्तर्गत गठन भएको सचेतना महिला समूहमा आवद्ध भएपछि चन्नरीको जीवनमा परिवर्तनको ढोका खुल्यो। समूहमा हुने छलफल चौतारी मार्फत महिनावारीसँग सम्बन्धित कुप्रथा, कानुनी व्यवस्था र स्वास्थ्यका विषयमा जानकारी मिळेपछि चन्नरीले परिवर्तन आफ्नै घरबाट सुरु गर्ने निर्णय गरिन्।
घरमा धामी ससुरा भएकाले यो प्रथा तोड्न निकै कठिन थियो। तर उनले धैर्यपूर्वक कानुनी अधिकार, स्वास्थ्य जोखिम र कुप्रथाका नकारात्मक असर बारे बुझाउँदै गइन्। अन्ततः ससुरा पनि सहमत भए। महिनावारी हुँदा छाउगोठमा होइन, आफ्नै घरभित्र बस्छिन् दूध, दहीजस्ता पोषिलो खानेकुरा नियमित खाने गर्छिन्। महिनावारीलाई लुकाउने होइन, सम्मानपूर्वक व्यवहार गर्ने बानि बसालिन्। समाजमा महिनावारीका कुप्रथा विरुद्ध सचेतना फैलाउने अग्रणी महिला बनिन्। चन्नरीको साहस र परिवर्तनले गाउँकै महिलाहरूलाई प्रेरणा दियो। आज धेरै महिलाहरु—महिनावारी हुँदा घरभित्र बस्छन्, पोषिलो खानेकुरा खान थालेका छन्, महिनावारी सम्बन्धी कुप्रथाबारे खुलस्त बोल्न थालेका छन्। चन्नरी लुहारको कथा केवल व्यक्तिगत परिवर्तन मात्र होइन, सम्पूर्ण समुदायको सोच परिवर्तन गर्ने कदम हो। सामाजिक कुप्रथा तोड्न सकिन्छ भन्ने प्रमाण उनले आफ्नै जीवनले देखाइन्।
डोटी ,पौष १२ सुबास नेपाली डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं ७ पाकरी र पुर्वीचौकी गाउँपालिका वडा नं २ बग्लेखमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिलगढीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा बचत, ऋण, ब्याजदर, किस्ता, बीमा तथा वित्तीय सेवासम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो। साथै आम्दानी, खर्च, बचत र लगानीको सही योजना बनाउन सहयोग पुर्याउने, ऋणलाई उत्पादनमूलक कार्यमा प्रयोग गर्ने बानीको विकास गराउने, नियमित बचतको महत्व बुझाई भविष्यका जोखिम सामना गर्न सक्षम बनाउने उद्देश्य राखिएको शाखा प्रबन्धक गणेश पौडेलले बताए।
त्यसैगरी साना उद्यम, स्वरोजगार तथा आयआर्जन गतिविधिमा सहभागी गराउने, बीमा, आपतकालीन कोष र वित्तीय सुरक्षाबारे जानकारी दिने, वित्तीय ठगी, अत्यधिक ब्याज र अनावश्यक ऋणको जोखिमबारे सचेत गराउने तथा ग्रामीण, महिला, दलित र पिछडिएका समुदायलाई औपचारिक वित्तीय प्रणालीसँग जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रमकै अवसरमा दिपायल सिलगढी नगरपालिका वडा नं ७ का दुई जना सदस्यलाई पहिरोका कारण घर क्षति भएबापत ५ हजार रुपैयाँ तथा श्रीमानको मृत्यु पश्चात् क्रियाखर्चका लागि ५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिए। वित्तीय साक्षरता कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नं ७ पाकरीमा १ सय ४५ जना र पुर्वीचौकी गाउँपालिका वडा नं २ बग्लेखमा १ सय ३० जना सदस्यको सहभागिता रहेको थियो।
,पौष १२ सुबास नेपाली डोटी जिल्लालाई खोरेत रोगमुक्त बनाउने उद्देश्यले खोप अभियानलाई तीव्रता दिइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा डोटीका नौ वटै स्थानीय तहको समन्वयमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो। मंसिर ५ गतेदेखि सुरु भएको खोप अभियानलाई प्रभावकारी बनाउन तथा हालसम्मको प्रगतिको समीक्षा गर्ने उद्देश्यले नौ वटै पालिकाका खोपकर्ताहरू, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। जिल्लालाई खोरेत रोगमुक्त बनाउने लक्ष्यसहित नौ वटै पालिकामा आठ हजारका दरले कुल ७२ हजार डोज खोप वितरण गरिएको छ। जसमध्ये हालसम्म ४० हजार डोज खोरेत रोगविरुद्धको खोप लगाइसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. खड्क बहादुर कठायतले जानकारी दिनुभयो।
नेपाल सरकारको चीनमा भैंसी निर्यात गर्ने दीर्घकालीन लक्ष्यलाई मध्यनजर गर्दै खोरेत रोगविरुद्धको खोपको प्रभावकारिता बढाउन अभियानलाई तीव्र पारिएको पनि उहाँले बताउनुभयो। खोरेत रोगका कारण पशुपालक किसानका पशुचौपायामा समय–समयमा समस्या देखिने गरेको भन्दै खोप अभियानले किसानलाई हुने क्षति न्यूनीकरण गर्ने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो। उहाँले यो अभियान सरकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग सम्बन्धित रहेको उल्लेख गर्दै लक्षित परिणाम हासिल गर्न खोपकर्ताहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। साथै उहाँले सबै मापदण्ड पालना गर्दै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। खोरेत रोगका कारण पशुपालक किसानहरूमा निराशा बढिरहेको सन्दर्भमा सरकारले सञ्चालन गरेको यो अभियानले एकातिर सरकारी लक्ष्य पूरा गर्ने र अर्कोतिर किसानको आर्थिक अवस्था सुधार गर्न सहयोग पुर्याउने जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताउनुभयो। उहाँले स्थानीय तहहरूले यो अभियानलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीको आयोजनामा आजै डोटी जिल्लाका ९ वटै स्थानीय तहका पशु शाखा प्रमुख तथा प्राविधिकहरूसँग जिल्लाको पशु स्वास्थ्य अवस्था सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा जिल्लामा हालसम्म पशु स्वास्थ्यका क्षेत्रमा भएका क्रियाकलापहरूको समीक्षा गर्दै विद्यमान समस्या, चुनौती र तिनका सम्भावित समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। साथै पशु रोग नियन्त्रण, खोप अभियान, प्राविधिक समन्वय र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
दिपायल सिलगढी नगरपालिकाको २०औं नगर अधिवेशन आज सम्पन्न भएको छ।
नगर प्रमुख बाजी सिंह खड्काको सभापतित्वमा सम्पन्न अधिवेशनले १ करोड ९६ लाख रुपैयाँको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको हो।
नगर प्रमुख बाजी सिंह खड्काले राज्यका स्रोत साधन जनतासम्म पारदर्शी, मितव्ययी र प्रभावकारी ढंगले पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको बताउँदै स्रोतको चुहावट रोक्न जनप्रतिनिधि र कर्मचारीहरू सचेत भएर अघि बढिरहेको उल्लेख गर्नुभयो। खानेपानीको समस्या रहेका स्थानहरूमा बृहत् खानेपानी आयोजनामार्फत समस्या समाधानको काम भइरहेको नगरपालिकाले जनाएको छ। साथै महिला सशक्तीकरणका लागि विभिन्न परियोजनामार्फत काम अघि बढाइएको नगर प्रमुख खडकाले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले नगरपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै विकास निर्माणका कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो।अधिवेशनले शान्ती सुरक्षालाई मध्यनजर गर्दै राजपुर र पिपल्ला बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान, सर्पदंश उपचार केन्द्र स्थापना, भौतिक संरचना निर्माण, तथा महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । नगरपालिकाले जनताका प्रत्यक्ष सरोकारका विषयहरूलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरू समावेश गरेको पनि प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाई रहेको छ। अधिवेशनमा दिपायल सिलगढी नगरपालिकाका जनप्रतिनिधिहरूले आ–आफ्नो धारणा राखेका थिए।
डोटी ,पौष ०८ सुबास नेपाली अगुवा महिला नेता ( च्याम्पियन) हरूलाई लक्षित गरी मर्यादित महिनावारी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । डीसीएको सहयोग तथा सम विकास केन्द्र (इडीसी) नेपालको आयोजनामा चार दिनसम्म सञ्चालन भएको तालिम डोटीको पिपल्ला बजार, दिपायलमा सम्पन्न भएको हो । तालिमकी मुख्य प्रशिक्षक मर्यादित महिनावारीकी विश्व अभियानकर्ता डा. राधा पौडेल रहनु भएको थियो भने सहायक प्रशिक्षक गोविन्द खड्का रहनु भएको थियो ।
मुख्य प्रशिक्षक डा. पौडेलले महिनावारी विभेद केवल एउटा सामाजिक समस्या नभई सबै प्रकारका विभेदहरूको जड भएको स्पष्ट पार्नुभयो । उहाँले अनुसन्धानमा आधारित तथ्य र व्यवहारिक अभ्यासमार्फत महिनावारी विभेद कसरी लैंगिक हिंसा, घरेलु हिंसा र मानव अधिकार हनन हो भन्ने कुरा सहभागीहरूलाई बुझाउनु भएको थियो। डा. पौडेलले सुदूरपश्चिमलाई ‘छाउपडी’ को भाष्यका नाममा सिंगो देशले नै हेपिरहेको टिप्पणी गर्दै भन्नुभयो, “महिनावारी विभेद यही मात्रै छ भन्ने गलत दृष्टिकोणले सुदूरपश्चिमलाई बदनाम गरिएको छ । विभेद देशव्यापी छ, तर दोष सधैं यही क्षेत्रलाई दिइयो ।” उहाँले महिनावारीको रगत शुद्ध, पवित्र र जीवनदायी रहेको वैज्ञानिक आधार प्रस्तुत गर्दै भन्नुभयो, “यही रगतबाट मानिस जन्मिन्छ । महिनावारी भएको ५ दिन र नभएको २५ दिन फरक व्यवहार गरिनु नै विभेद हो, र त्यो विभेद हिंसा पनि हो ।” तालिममा दक्षिण गोलाद्धीय मर्यादित महिनावारी सञ्जालका सञ्चार सल्लाहकार तथा सहायक प्रशिक्षक गोविन्द खड्काले महिनावारी विभेद सुदूरपश्चिमभन्दा काठमाडौं, मधेस र देशका अन्य भागमा अझै व्यापक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशभर समान अभ्यासहरू छन, के खाने, के नखाने, के छुन हुने, के नहुने,हिँडडुल, बोलचाल, हेर्ने नहेर्ने, तर ‘छाउपडी’ शब्दलाई गोठसँग मात्रै जोडेर सुदूरपश्चिमलाई अपमान गरियो ।” खड्काले ‘छाउपडी’ शब्दको अर्थ महिनावारी हुने व्यक्ति नै भएको स्मरण गराउँदै, “यदि हामीले विभेदलाई विस्थापित गरी ‘महिनावारी’ शब्द मात्रै प्रयोग गर्यौ भने सुदूरपश्चिमले अनावश्यक हेपाइ कम सहनुपर्छ,” भन्नुभयो । तालिममा सहभागी महिलाहरूले पहिलो पटक महिनावारी विभेद आफैँमाथि भएको हिंसा र संविधानले दिएको मानव अधिकारको उल्लंघन भएको बुझेको प्रतिक्रिया दिए । उनीहरूले मर्यादित महिनावारी यात्राको शुरुवात आजैबाट भएको घोषणा गर्दै आफ्ना घर, परिवार र गाउँलाई मर्यादित महिनावारीमैत्री बनाउने प्रतिबद्धता जनाए । सहभागिले भने, “महिनावारी हामीले लुकाउन सिक्यौं, डराउन सिक्यौं र विभेद सहन सिक्यौं । अब हामी सहँदैनौ ।” सम विकास केन्द्र (इडीसी) नेपालका कार्यक्रम संयोजक टेक नेपालीले महिनावारी विभेदको गम्भीरता र मर्यादित महिनावारीको अवधारणा आफूले पहिलो पटक गहिरोसँग बुझेको स्वीकार गर्नुभयो । “हामीले बुझेका छौं भन्ने लागेको थियो, तर वास्तवमा हामीले बुझेका रहेनछौं,” उहाँले भन्नुभयो । चारदिने प्रशिक्षक प्रशिक्षणले सहभागी महिला अगुवाहरूलाई स्थानीय तहमा परिवर्तनका च्याम्पियनका रूपमा तयार पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । तालिममा के.आई. सिंह गाउँपालिका र शिखर नगरपालिकाका २५ जना महिला अगुवाहरू सहभागी थिए । सहभागीहरू स्थानीय तहमा नेतृत्वदायी भूमिकामा रहेका महिला प्रतिनिधि तथा सामाजिक अगुवाहरू हुन् ।
मंसिर ०९ डोटी सुबास नेपाली आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले भैरव प्रसाद गणद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी सँगको सहयोगमा भिड नियन्त्रण सम्बन्धी संयुक्त अभ्यास गरिएको छ। अभ्यासका क्रममा भीड व्यवस्थापन, आकस्मिक अवस्था नियन्त्रण, दंगा नियन्त्रणका रणनीति, सुरक्षाकर्मीहरूको तालीमप्रति तयारीको अवस्था तथा सुरक्षा निकायहरु विचको समन्वयलाइ अझै प्रभावकारी बनाउन संचालन गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कमल सिंह बिष्टले बताउनुभयो ।
कार्यक्रममा आधुनिक उपकरणको प्रयोग, संवेदनशील क्षेत्रको सुरक्षा, भीड मनोविज्ञान बुझेर तत्काल निर्णय लिन सकिने क्षमताको मूल्यांकनजस्ता विषयहरू समावेश गरिएको थियो। आगामी निर्वाचनमा सम्भावित जोखिमहरूलाई न्यूनिकरण गर्न यस किसिमका अभ्यासहरू अत्यन्त महत्वपूर्ण रहने डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । अभ्यासले सुरक्षाकर्मीको प्रतिक्रिया क्षमता, समन्वय, र नेतृत्व कौशलको समेत परीक्षण गरेको पनि उहाले बताउनुभयो।
एकेन्द्र चन्द डोटी : बडीकेदार गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार बाट सुरु भएको छ । बडिकेदार गाउँपालिका वडा नम्बर २ मा रहेको बर्छैन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको हो। उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख मियाँले बिकासको कुरामा अमेरिका जतिनै अगाडि बढ्न नसकेको भए पनि नेपालका कुना कब्जामा समेत बिकास निर्माणका कार्य क्रमश अगाडि बढ्दै गएको र बिकास निर्माण सबै मिलेर अगाडि बढ्ने भएकोले सकारात्मक सोचले नै बिकास निर्माण हुने कुरामा जोड दिनु भयो । यस ठाउँका पनि कयौं युबाले खेलकुद मार्फत राष्ट्रलाई देश तथा बिदेशमा चिनाउन सफल भएको उहाँले बताउनु बताउनु भयो । आफुहरुले सहज रुपमा स्कुल पढ्न सक्ने बाताबरण नभए पनि अहिलेको अवस्था निकै फरक रहेको र सहज भएको प्रदेश प्रमुख मियाँले बताउनु भयो ।
दृढ़ इच्छा शक्तिका साथ आफुले रुचि राखेको खेलमा निरन्तरता दिन सक्यो भने पालिका हुँदै प्रदेश र राष्ट्रलाई नै चिनाउन सकिने सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद चक्रबहादुर मल्लले बताउनु भयो। उहाँले बडीकेदार गाउँपालिकामा रहेको सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल ठुलाकेदार धामको विकास गर्न सके यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने पनि बताउनु भयो। त्यस्तै सांसद मल्लले सहजपुर – बिपिनगर बोगटान – दिपाय सडक कालोपत्रको लागि आवस्यक पहल पनि भैरहेको बताउनु भयो ।
मेहनत गर्यो भने एक दिन पक्कै सफल हुने बताउँदै बडिकेदारकै माटोमा हुर्किएका नरेन साउदले र बोगटानमा जन्मिएका लोकेश बमले अहिले खेलकुद क्रीकेटको माध्यम बाट देश बिदेश चिनाउन सफल भएको र सफल हुनको लागि मेहनत आवश्यक रहेको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदले बताउनु भयो । उहाँले प्रदेश सरकार बाट बितरित योजनाहरुको काम चैतमा सम्झौता भएर असारमा कामै नगरी भुक्तानि हुने गरेकोमा समेत असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले हरेक कामको जफाब स्थानिय सरकारले दिनु परेको बताउनु भयो ।
खेलकुदका माध्यम बाट नयाँ खेलाडीहरु उत्पादन गर्नमा जोड दिनु पर्ने बडिकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट ( कलेलले ) बताउनु भयो । उहाँले रोडहेडका बिधालय भन्दा पनि समग्र बडीकेदार गाउँपालिकाका बाटाघाट बिधालयहरुको अवस्था हेरेर बजेटको ब्यवस्थापन गरिदिन आग्रह गर्नुभयो । सहजपुर बोगटान सडकलाई अझै पनि सौतेनी ब्यवहार गरिरहेकोमा उहाँले असन्तुष्टि राख्नु भएको थियो । खेलकुद मानव जीवनको महत्वपूर्ण पाटो भएकाले विद्यार्थीले समेत आफ्नो जीवन बनाउने लक्ष्य पूर्वाधार लगायतका विषयमा अझै लगानी गर्नुपर्ने बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख विवेक देउबाले बताउनुभयो।
उद्घाटन कार्यक्रमको सुरुमा ९ वटै बिद्यालयका खेलाडीहरुले मार्च पास गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र दौड खेलमा प्रतिस्पर्धा हुँदैछ ।