Category: Uncategorized

  • मोफा जापानको आर्थिक सहयोगमा संचालित “विद्यालय बालबालिकाको पोषण सुधार परियोजना”को अनुगमन सम्पन्न ।

    मोफा जापानको आर्थिक सहयोग, गुडनेवर्स इन्टरनेशनल नेपालको प्राविधिक साझेदारी र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा सम विकास केन्द्र (ईडीसी) नेपालद्वारा सञ्चालित “विद्यालय बालबालिकाको पोषण सुधार परियोजना”अन्तर्गत संचालन भएका विभिन्न क्रियाकलापहरुको अनुगमन गरिएको छ।

    दिपायल सिलगढी नगरपालिका–७ स्थित श्री दुर्गा माध्यमिक विद्यालय पाकरी ,अरुणोदय आधारभूत विद्यालय उडितोला र सुनादेबी मा विमा निर्माणाधीन संरचनाहरु छात्र–छात्रा शौचालय, खाजाघर, वेष्टपिट, खानेपानी व्यवस्थापन तथा करेसाबारीको अनुगमन गरिएको हो।

    जिएन आई सम बिकास केन्द्र नेपाल कार्य समिती सदस्य, स्थानीयतहका जनप्रतिनिधि ,पत्रकार , शिक्षा, स्वास्थ्य र कृषि शाखाका प्रतिनिधिहरूको संयुक्त टोलीले निर्माणाधीन संरचना र करेसबारीको अनुगन गरेका हुन।
    छोटो समयमै बिधालय व्यावस्थापन समिति , शिक्षक, निर्माण समिति, वडा कार्यालय र स्थानीय समुदायको प्रतिबद्धता र सक्रियताले निर्माण सम्पन्न हुन लागेका संरचनाहरुले बिद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा प्रभावकारी हुने जिल्ला समन्वय समिती डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताउनुभयो।

    अनुगमनका क्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खडकाले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन भौतिक संरचनाले ठूलो भुमिका खेल्ने भन्दै संरचना निर्माणमा सहयोग गर्ने मोफा जापान, गुडनेवर्स इन्टरनेशनल र सम बिकास केन्द्र नेपाललाई धन्यवाद प्रकट गर्नुभयो।साथै उहाँले करेसाबारीबाट प्राप्त सागसब्जी विद्यालयले बालबालिकाको दिवाखाजामा प्रयोगले पोषण स्थितिमा सुधार हुने पनि बताउनुभयो ।

  • दिपायल सिलगढी नगरपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    डोटी ,कार्तिक ३०
    सुबास नेपाली
    डोटीको दिपायल सिलगढी  नगरपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
    निड्स नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना, युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहकार्य तथा दिपायल सिलगढी नगरपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
    विपदबाट बढी क्षति भोग्ने तथा विपदमा आधारित कार्यक्रमको पहुँच बाहिर रहेकालाई सामाजिक सुरक्षामा जोडेर के कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गरिएको निडस नेपालाकी प्रतिनिधि हेमा जोराले बताईन।
    नगरपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षाको अवस्थाबारे जानकारी र थप प्रभावकारी बनाउन जनप्रतिनिधि ,शाखा प्रमुख र सरोकारवालासँग छलफल गरिएको जोराले बताइन् ।
    कार्यक्रमले जोखिममा परेका नागरिकको संरक्षण, विपद् पूर्व तयारी, राहत र पुनःस्थापनामा सहज, समावेशी र न्यायपूर्ण विकास सुनिश्चित गर्न, आर्थिक सुरक्षाको व्यवस्था तथा मानव जीवनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने र यस कार्यमा आफ्नो पालिकाले सक्दो सहयोग गर्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खडकाले बताउनुभयो ।
    विपद् संवेदनशील सामाजिक सुरक्षामा विपद बाट बढि प्रभावित हुने सम्भावना बढी भएका व्यक्ति वा समुदायलाई लक्षित गरेर पूर्व तयारी तथा कार्यक्रम तयार गर्न यसले सहयोग पुग्ने दिपायल सिलगढी नगरपालिकाका सामाजिक शाखा प्रमुख रमेश चन्द्र जोशीले बताए ।

  • सम बिकास केन्द्र नेपालको वार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न ।

    कार्तिक २८,डोटी
    सुबास नेपाली
    सम बिकास केन्द्र डोटीको सामाजिक परिक्षण कार्यक्रम सिलगढीमा सम्पन्न भएको छ । 
    संस्थाले बर्ष भरी गरेका संस्थागत तथा परियोजनात्मक गतिबिधीहरुको बारेमा सेवा प्रदायक तथा सरोकारवालाहरुलाई जानकारी दिने उदेश्यले बार्षिक सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केशव परियारले बताए । 
    सामाजिक परिक्षण कार्यक्रममा संस्थाले वर्षभरि सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा चुनौतीहरूबारे विस्तृत प्रस्तुति गरिएको थियो। सहभागीहरूले पारदर्शिता, उत्तरदायित्व र कार्यक्रमहरूको प्रभावकारिता सुनिश्चित गर्न र दिगोपनामा सहयोग पुर्याउने सुझाव दिएका थिए ।
    सम बिकास केन्द्र डोटीले जिल्लाको सामाजिक परिवर्तको क्षेत्रमा उल्लेखनीय कार्य गरेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खडकाले बताए । संस्थाले सामाजिक परिवर्तको क्षेत्रमा खेलेको भूमिका प्रसंशनिय रहेको समेत खडकाले बताए ।  
    सम बिकास केन्द्र डोटीले जिल्लाका महत्वपूूर्ण सवाल लैगिक हिंसा, जातीय छुवाछुत, सुशासन ,जनाफदेहीता ,पारदर्शिताका सवालहरुमा महत्वपूर्ण कार्य गर्दै आएको जिल्ला समन्वय समिती उप-प्रमुख स्मृति चुनाराले बताइन् ।
    संस्थाले बिगत देखिनै महिला अधिकार लैगिक समानता, महिलाको न्यायमा पहुचँ, जातिय छुवाछुत, स्थानिय तहको शासन प्रकृयामा नागरिक सहभागिता, गुणस्तरीय शिक्षा परिवर्तन, बातावरणीय दिगोपना लगाएका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको सम बिकास केन्द्र नेपालका अध्यक्ष केशव परियारले बताए।

    कार्यक्रमको सहजीकरण अधिवक्ता तथा पत्रकार नवराज जोशीले गर्नुभएको थियो भने कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खडका,जिल्ला समन्वय समिति उप-प्रमुख स्मृति चुनारा,पत्रकार महासंघका अध्यक्ष प्रकाश बम,सुरक्षा निकायका पदाधिकारी,पत्रकार , विभिन्न सरोकारवाला संस्था तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  • नेपाली सेनाका बलाध्यक्ष रथी श्रेष्ठद्वारा सुदूरपश्चिमका सैनिक युनिटहरूको निरीक्षण।

    कार्तिक २७,डोटी
    सुबास नेपाली
    नेपाली सेनाका बलाध्यक्ष रथी गणेश कुमार श्रेष्ठले सुदूरपश्चिम प्रदेशस्थित विभिन्न सैनिक युनिटहरूको निरीक्षण गर्नुभएको छ।
    आफ्नो नियमित निरीक्षण कार्यक्रममा रहनु भएका श्रेष्ठले बाजुरा,डोटी ,अछाम लगायतका सैनिक युनिटहरुमा पुगेर सेनाको गतिविधि, तालिम र प्रशासनिक व्यवस्था बारे जानकारी लिनु भएको हो।
    निरीक्षणका क्रममा बलाध्यक्ष रथी श्रेष्ठले सेनाको अनुशासन, दक्षता र जनसेवामा समर्पणलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुका साथै  विपद् व्यवस्थापन र निर्वाचनमा सेनाको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक तयारीका लागि सम्पुर्ण सकलदर्जाहरूलाई निर्देशन दिनुभयो।

    बलाध्यक्ष रथि श्रेष्ठले सेनाका सम्पुर्ण सकल दर्जाहरूसँग उत्साहजनक सम्बोधन गर्दै राष्ट्रको सुरक्षा र स्थायित्वमा सेनाको योगदान महत्त्वपूर्ण रहेको बताउँदै जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्न आग्रह गरेका छन्।

  • भैलो खेलेर संकलित रकमबाट चौखुट्टे बजारका दुई मन्दिरमा रङरोगन, युवाहरूको प्रेरणादायी पहल।

    तिर्थ नेपालि/
    कात्तिक १५
    अछाम जिल्लाको चौरपाटी गाउँपालिका–६, चौखुट्टे बजारका स्थानीय युवाहरूले तिहारमा भैलो खेलेर संकलन गरेको रकमलाई सामाजिक सेवामा उपयोग गर्दै उदाहरणीय पहल गरेका छन्।

    युवाहरूले भैलोबाट जम्मा भएको १६ हजार रुपैयाँ सिद्धबाबा मन्दिर र राधा–कृष्ण मन्दिरमा रङरोगन गर्न प्रयोग गरेका हुन्।

    यस सामाजिक कार्यको मुख्य भूमिका झकर मन साउद, तेज साउद, सरोज साउद, लोकेन्द्र साउद, दिनेश साउद, हिक्मत साउद टंक आउजी र शिब आउजी लगायतका युवाहरूले निर्वाह गरेका थिए।

    स्थानीय केसर साउदका अनुसार, तिहारको अवसरमा केवल चौखुट्टे बजारमै भैलो खेलेर उक्त रकम संकलन गरिएको थियो। उनले भने, “हामीले मनोरञ्जनका साथ–साथै केही सामाजिक काम पनि गर्ने सोच राख्यौं। त्यसै क्रममा धार्मिक स्थलहरूलाई सुन्दर बनाउन रङरोगन गर्ने निर्णय गर्यौं।”

    मन्दिरहरूमा गरिएको रङरोगनपछि बजारको सौन्दर्य अझ बढेको स्थानीयवासीहरूको भनाइ छ। उनीहरू युवाहरूको सामूहिक प्रयास र सामाजिक चेतनाप्रति गर्वित बनेका छन्।

    “आजका युवाहरूले परम्परागत चाडपर्वलाई मनोरञ्जन मात्र नभई सामाजिक योगदानसँग जोड्नु सकारात्मक पहल हो। यसले गाउँमा एकता र धार्मिक सद्भाव बढाएको छ। समाजसेवि राम बं. आउजी ले बताउनु भयो ।

    युवाहरूले आगामी वर्षहरूमा पनि यस्ता सामुदायिक तथा धार्मिक गतिविधिहरूलाई निरन्तरता दिने योजना बनाएका छन्। उनीहरूको यो कार्यले ग्रामीणस्तरमै सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको सन्देश दिएको छ।

  • दलित तथा विपन्न महिलाको आर्थिक ,सामाजिक र राजनीतिक  सशक्तिकरणमा ‘पहुँच परियोजना’।

    कार्तिक १३,डोटी
    सुबास नेपाली
    सम विकास केन्द्र नेपाल( ई डि सि) र डि सि ए को सहयोगमा संचालित ‘पहुँच परियोजना’ ले दलित तथा विपन्न महिलाहरूलाई सशक्त बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको छ।
    के आई सिंह गाउपालिका र शिखर नगर पालिकामा संचालन भएको यस परियोजनाको छलफल चौतारीका माध्यमबाट महिलाहरूलाई डिजिटल साक्षरता, जलवायु परिवर्तनको प्रभाव र अनुकूलन उपाय, व्यवसाय तथा उद्यम विकास, राजनीतिक नेतृत्व, साथै जातीय छुवाछूत अन्त्य र छाउपडी प्रथा विरुद्ध सचेतना सम्बन्धी विविध कार्यक्रम संचालन हुँदै आएका छन।

    सन २०२२ बाट शिखर ५,७,८,९,१० र ११,के आई सिंह १,२ र ३मा परियोजना सुरु भए देखी हाल सम्म ४० वडा समूहहरु गठन भै १०२८ महिलाहरु लाभान्वित भएका छन।
    परियोजनामा सहभागी महिलाहरूले सीप र ज्ञान प्राप्त गरेपछि आत्मनिर्भर बन्न थालेका छन् भने उनीहरूले साना व्यवसाय सञ्चालन, समुदायमा सचेतना फैलाउने कार्य र नेतृत्व भूमिकामा सहभागी हुने अवसर पाउन थालेका छन्।

    परियोजनाका संयोजक टेक बहादुर नेपालीका अनुसार, पहुँच परियोजनाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूलाई डिजिटल साक्षरता , वातावरणीय सचेतना र आर्थिक सशक्तिकरणतर्फ उन्मुख गराएको र स्थानीय तहका जन प्रतिनिधिहरूले पनि परियोजनाले महिला अधिकार र समानतामा सकारात्मक प्रभाव पारेको बताएका छन्।

    परियोजनाले महिलाहरुलाई आफनो हक अधिकार दावी गर्न सक्षम बनाउनुका साथसाथै आर्थिक सशक्तीकरणमा जोड दिएका कारण महिलाहरुको आर्थिक ,सामाजिक र राजनीतिक पहुँचमा वृद्धि भएको सम बिका केन्द्र इ डो क नेपाल्का कार्यकारी निर्देशक महेश त्रिखत्रीले वताउनुभयो ।
    यसरी पहुछ परियोजना संचालनमा आय देखि कार्यक्रम लागू गरिएका क्षेत्रका महिलाहरुमा आर्थिक स्थितिमा सुधार हुनुका साथै समाजमा रहेका हानिकारक प्रथाहरु कम हुँदै गएका छन भने नेतृत्व बिकास समेत भएको छ।

  • आगलागी सम्बन्धि विपद व्यवस्थापन समिति डोटीको आयोजनामा कृतिम घटना अभ्यास ।

    कार्तिक १,डोटी 
    आगलागीको समयमा उद्दार, राहत, सहजीकरण कसरी गर्न सकिन्छ भन्ने जानकारी दिने उदेश्यले लगायतका आगलागी सम्बन्धी कृतिम घटना अभ्यासको गरिएको छ।
    तिहारको समयमा विभिन्न माध्यमबाट आगलागीका घटनाहरु हुन सक्ने भन्दै जिल्ला विपद व्यवस्थापन समिति डोटीको आयोजनामा तथा श्री भैरब प्रसाद गणको संयोजकत्वमा दिपायल सिलगढी नगरपालिका वडा नं छ स्थित टुडिखेलमा आगलागि सम्बन्धी कृतिम अभ्यास गरिएको हो।
    चाडवाड्को समयमा आगलागीका घटनाबाट हुन सक्ने र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने जानकारी दिने उद्देश्यले कृतिम घटना अभ्यासको आयोजना गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

    विशेष गरेर तिहारको समयमा विद्युत सट हुने पटका र ग्यास चुहावट भएर आगलागी  हुन सक्ने भएकाले त्यसबाट बच्न र आगलागी  पश्चात्  के के गर्ने भन्ने आम नागरिकहरुलाई जानकारी दिने उदेश्यले कृत्रिम घटना अभ्यासको आयोजना गरिएको भैरव प्रसाद गणका सेनानी सुशील कुमार राउतले बताउनुभयो ।

    अभ्यास कार्यक्रममा आगलागी भए पछि अपनाउनु पर्ने सावधानी , खोज र उद्धार, पुनर्स्थापना, घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पु-याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धि काल्पनिक परिस्थिति अनुसारका अभ्यासहरु गरिएको थियो।

  • भैरव प्रसाद गणमा संचालित सि.सं ८ सैन्य आधार तालिम सम्पन्न :९८ जना दिक्षित।

    असोज २७,डोटी
    सुबास नेपाली 
    डोटी स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गणमा सञ्चालन भएको सि.सं.८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न भएको छ । 
    श्री नम्बर ५ बाहिनी अड्डाका सहायक रथी बाहिनी पति बालकृष्ण कार्कीको आतिथ्यतामा सम्पन्न भएको अन्तिम अन्तिम दलेल कवाजमा ९८ जना सैन्य प्रशिक्षार्थीको सहभागिता रहेको थियो।


    समारोहलाई सम्बोधन गर्दै बाहिनी पति कार्कीले तालिमे सैन्यहरुबाट सलामी ग्रहण गर्नुका साथै कवाज निरीक्षण गर्नुभएको थियो। तालिमे सैन्य समूहलाई सम्बोधन गर्दै बाहिनी पति कार्कीले सेना बलियो भए मात्र देश बलियो हुने भन्दै  सिपाहीको कर्तव्य, जिम्मेवारी एवम् दायित्वको बारेमा स्मरण गराउँदै जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम  कटिवद्ध हुन निर्देशन गर्नुभयो। 
    डोटी राजपुर स्थित श्री नं ५ बाहिनी अड्डामा आयोजित कार्यक्रममा श्री नं ५ बाहिनी अडडाका बहिनी पति सहायक रथी बालकृष्ण कार्की , श्री भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कमल सिंह बिष्ट , प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी ,सुदुर पश्चिम प्रहरी तालिम केन्द्रका प्रमुख ,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी निकायका प्रमुख तथा सैन्यहरुका आफन्त  लगायतको उपस्थित रहेको थियोे ।

  • लागू औषध र यसको गैरकानुनी कारोबार नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कडा रुपमा प्रस्तुत हुने।

    डोटी जिल्लामा लागु औषध प्रयोगकर्ता र ओसारपसार बढेको भन्दै त्यसको नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय डोटी  कडा रुपमा प्रस्तुत हुने भएको छ।
    जिल्लामा लागू औषध प्रयोगकर्ता दिनहु दिन बढी रहेको र त्यसका कारण हत्या,हिंसा ,पारिवारिक कलह,आत्महत्या जस्ता घटना बढी रहेको र जस्का कारण कलिला युवाहरुको भबिस्य नै जोखिममा परेको कुरालाई संवेदनशील रुपमा लिई त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय डोटी र सरोकारवाला निकाय कडारुपमा प्रस्तुत हुन लागेको हो।
    लागू औषध र यसको गैरकानुनी कारोबार नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कडा कदम चाल्ने डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । जिल्ला भित्र लागू औषधको बिक्री, सेवन र ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही गर्ने तयारी गरिएको र यसका लागि सुरक्षाका निकायहरूबीच समन्वय गरी निगरानी र खोजतलासी अभियानलाई थप सशक्त बनाइने पनि जोशीले बताए।
    जिल्ला प्रशासन कार्यालय डोटीले लागू औषध र यसको गैरकानुनी कारोबार नियन्त्रण गर्न जिल्ला स्थित सरोकारवाला निकायहरु संगको सयुक्त बैठक बसि सात बुदे निर्णय पनि सार्वजनिक गरेको छ ।
    १.जिल्लामा लागु औषध प्रयोगकर्ताको संख्या पछिल्लो समय बढ्दै गइरहेको अवस्थालाई संवेदनशील र लागी लिदै सो को नियन्त्रणको लागि लागू पदार्थ दुरुपयोग, ओसारपसार र बिक्रि वितरण हुन सक्ने सम्भावित क्षेत्रहरुका रुपमा पहिचान गरिएका क्षेत्रहरु ( बुडर, गोपघाट, दिपायल सिलगढी) मा निगरानी बढाउने,सुराकी परिचालन गरी सूचना संकलन गर्ने र कानून विपरित कार्य गर्नेलाई आवश्यक कारबाहीका लागि सरोकारवाला निकायमा पेश गर्ने ।
    २. लागु पदार्थ दुरुपयोग, ओसारपसार र बिक्रि वितरण हुन सक्ने सम्भावित क्षेत्रहरुमा जिल्ला प्रहरी कार्यालयर अन्तरगतका इकाइहरुले अनुगमन तथा निरीक्षण गर्ने ।
    ३. लागु औषध नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउने र स्थानीय तहसँग समन्वय गरी विद्यालय तथा समुदाय स्तरमा सञ्चालन भईरहेका युवा लक्षित जनचेतना अभिबृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिने ।
    ४. पत्रकार महासंघ डोटीसँग समन्वय जिल्लास्थित एफ. एम. रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायतका सञ्चार माध्यमबाट लागु औषध दुर्व्यसन विरुद्ध सूचना, जानकारी, सन्देशमुलक सामाग्री प्रकाशन प्रशारण गर्ने ।
    ५. चाडपर्वको मौका छोपी अवैध निकासी पैठारी गर्ने, चोरी तस्करी गर्ने, लागु औषध ओसारपसार गर्ने जस्ता कार्यहरु नियन्त्रण गर्न जिल्ला प्रहरीले अन्य सुरक्षा निकायसँग समन्वय र सहकार्य गरी निगरानी बढाउने ।
    ६. चाडवाडको बेला अवैध मदिरा, लागु औषध दुर्व्यशनको बिक्री वितरण, सेवनका कारण सामाजिक अपराधका घटना घट्ने क्रम बढिरहेको हुँदा जिल्लास्थित सबै सुरक्षा निकायले जिल्लामा रहेका आफ्ना सबै संयन्त्रलाई चेकजाँच, अनुगमन, गस्ती, पेट्रोलिङ्गलाई अझ प्रभावकारी रुपमा परिचालन गर्ने / गराउने ।
    ७.मदिरा, लागु औषधको बिक्री वितरण, सेवन गर्ने स्थान र व्यक्तिको पहिचान गरी नियमित र निरन्तर अनुगमन गरी कारवाही गर्ने ।
    जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायहरुले लागू औषध र यसको गैरकानुनी कारोबार नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम र विद्यालय–समुदायस्तरमा सचेतना अभियान सञ्चालन  गरिने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

  • विश्व मानसिक स्वास्थ्य दिवस १० अक्टोवर २०२५ को सन्दर्भमा मानसिक स्वास्थ सम्बन्धी नगरपालिका लाई ज्ञापन पत्र ।

    असोज २५,डोटी
    मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न माग राख्दै दिपायल सिलगढी नगरपालिका लाई ज्ञापनपत्र बुझाईएको छ।
    दिपायल सिलगढी  नगरपालिकामा संचालित शसक्त महिला समृद्द नेपाल परियोजनाका जिल्ला  संयोजक टिकेन्द्र प्रसाद भण्डारीको संयोजकत्व तथा टि पि ओ नेपाल संगको समन्वयमा  बिश्व मानसिक  स्वास्थ्य दिवस १० अक्टोबर २०२५ को सन्दर्भ पारी मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न ८ वटा माग राख्दै दिपायल सिलगढी नगरपालिकाकि नगर उप- प्रमुख कलावति महर साउदलाइ ज्ञापन पत्र बुझाईएको हो।
    ज्ञापनपत्रमा
    १) मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोगका लागि आवश्यक लैङ्गिक उत्तरदायी नीति निर्माण, कार्ययोजना बनाउने तथा आवश्यक स्रोतहरुको व्यवस्था गर्ने ।
    २) स्थानीय तहबाट नै मानसिक स्वास्थ्यका लागि आवश्यक बजेट व्यवस्थापन गरी स्वास्थ्यकर्मी, शिक्षक, सामाजिक कार्यकर्ताहरु तथा स्वयमसेवकहरुको क्षमता अभिवृद्धि (तालीम तथा क्लिनिकल सुपरीवेक्षण), जनचेतनामूलक कार्यकम, आवश्यक औषधी खरिद, प्रेषण सेवा, पुनर्स्थापना तथा पुनर्मिलन सेवा सञ्चालन गर्न बजेट विनियोजन गर्ने ।
    ३) मानसिक स्वास्थ्यका हिसाबले जोखिममा रहेका विशेषगरी द्धन्द्ध तथा हिंसा प्रभावित, संरक्षणको सवाल र विपद्को जोखिममा रहेका नागरिकलाई अन्य आवश्यक सेवासँगै अनिवार्य रुपमा मनोसामाजिक सहयोगको व्यवस्था मिलाउने ।
    ४) समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यकम प्रवर्द्धनात्मक, रोकथाममूलक, उपचारात्मक र पुनर्स्थापनात्मक) तर्जुमा र कार्यान्वयन गर्न नेतृत्वदायि भूमिका निर्वाह गर्ने ।
    ५) मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र परिवारका सदस्य प्रतिको लाञ्छना, भेदभाव, अवहेलना कम गर्न र मानवअधिकारको संरक्षण गर्न स्थानीय तहमा नीति बनाई कार्यान्वयनमा ल्याउने ।
    ६) मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि एकद्धार नीति अवलम्बन गरी स्थानीय स्तरका सरकारी, गै.स.स./राष्ट्रिय स्तरका विशेषज्ञ संस्था तथा अन्य सरोकारवालासँग साझेदारी गरी एक द्वार प्रणाली मार्फत न्यूनतम मापदण्ड बनाइ कार्यकमहरु सञ्चालन गर्ने ।
    ७) केन्द्रिय तथा प्रादेशिक सरकारसँग समन्वय गरी मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धि कार्यक्रमहरु आफ्‌नो पालिकामा ल्याउन पैरवी गरी जनस्वास्थ्यका अन्य कार्यक्रमहरुसँगै यसलाई पनि समायोजन गर्दै लैजाने ।
    ८)  कार्यक्रमको प्रभावकारिताको लागि स्थानीय स्तरमा अधिकार सम्पन्न समन्वय समिति गठन गरी कार्यान्वयन गरिएका कार्यक्रमहरुको प्रभावकारीताको नियमित अनुगमन तथा सुपरिवेक्षण गर्ने जस्ता मागहरु समाबेश गरिएको टि पि ओ नेपालकी प्रतिनिधि निरा बिकले बताईन।
    मानसिक स्वास्थ्यको प्रवर्द्धनमा हामी सबैको दायित्व रहने र यस विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्ति, परिवारजन, नातेदार, समुदायका व्यक्ति, विभिन्न संघ-संस्था, समूह, विद्यालय, दातृनिकाय, स्थानीय तह, प्रदेश तथा संघिय सरकारका सम्बद्ध निकायहरु एक अर्कामा हातेमालो गरी हरेक उमेर, वर्ग, समुदाय, पेशामा रहेका व्यक्तिहरुको मानसिक स्वास्थ्य समस्यालाई सबैले हातेमालो गरी सम्बोधन गर्न अत्यन्त आवश्यक रहेको शसक्त महिला समृद्द नेपाल परियोजनाका जिल्ला  संयोजक टिकेन्द्र प्रसाद भण्डारीले बताए।
    उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मिको उपस्थिति रहेको थियो।