Blog

  • डोटीमा बन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी चेतनामूलक गोष्ठी सम्पन्न।

    डोटी ,चैत्र १
    सुबास नेपाली

    गर्मीयाम सुरु भएसँगै हुन सक्ने बन डढेलोको जोखिमलाई मध्यनजर गर्दै डोटीमा बन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी चेतनामूलक गोष्ठी सम्पन्न भएको छ। डिभिजन बन कार्यालय डोटीको आयोजनामा बन डढेलो व्यवस्थापन सप्ताहको अवसर पारेर उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
    कार्यक्रमबारे जानकारी दिँदै वरिष्ठ बन अधिकृत गोपिकृष्ण जोशीले गर्मीयाममा बन क्षेत्रमा आगलागीको सम्भावना बढी हुने भएकाले समयमै सचेतना फैलाउन गोष्ठी आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार बन डढेलोबाट वातावरण, जैविक विविधता र स्थानीय जनजीवनमा ठूलो असर पर्ने भएकाले यसको नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक छ।
    गोष्ठीमा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बन डढेलोबाट हुने वातावरणीय तथा आर्थिक क्षतिबारे जानकारी दिँदै यसको रोकथामका उपायहरू, सामुदायिक वनको संरक्षण र आगलागी हुन नदिन अपनाउनुपर्ने सावधानीका विषयमा विस्तृत छलफल गरिएको थियो।
    वरिष्ठ बन अधिकृत जोशीले बन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकार, सुरक्षानिकाय तथा वन उपभोक्ता समितिहरूबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय समुदायको सक्रियता बिना बन संरक्षण सम्भव नहुने उल्लेख गर्दै आगलागी भएको अवस्थामा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र नेपालले बन डढेलो नियन्त्रण तथा सुरक्षासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले बन डढेलो नियन्त्रणका क्रममा सुरक्षाकर्मी, स्थानीय तह र समुदायबीच सहकार्य अत्यन्त आवश्यक हुने बताउनुभयो।
    कार्यक्रममा दिपायल सिलगढी नगरपालिका  भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बन संरक्षण तथा डढेलो नियन्त्रणका लागि सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
    कार्यक्रमबाट स्थानीय समुदायमा बन डढेलोको जोखिम र त्यसको नियन्त्रणका उपायबारे थप चेतना फैलिने अपेक्षा गरिएको आयोजकले जनाएको छ

  • बालाजुको ६४ वर्षको ऐतिहासिक यात्रा पूरा  सीप,  सम्मानसँगै राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता

    तिर्थ नेपाली
    काठमाण्डौ       
    बालाजु स्कुल अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजीको  ६४औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ । बुधबार आयोजित विशेष समारोह शिक्षालय प्रमुख सुशील कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

    समारोहमा शिक्षालयका उपप्रमुख रघुवर लाल जोशी तथा प्रदीप न्यौपाने विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले विज्ञान र प्रविधिले तीव्र गति लिइरहेको वर्तमान युगमा प्राविधिक शिक्षाको आवश्यकता अझै बढ्दै गएको उल्लेख गर्नुभयो। “राष्ट्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सीपयुक्त, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन अपरिहार्य छ,” उहाँले भन्नुभयो।

    वि.सं. २०१८ सालमा ‘मेकानिकल ट्रेनिङ सेन्टर’का रूपमा स्थापना भएको यस शिक्षालयले समयानुकूल आफ्नो शैक्षिक दायरा विस्तार गर्दै हाल ६ वटा डिप्लोमा तहका कार्यक्रम सञ्चालन गरिरहेको छ। विगत ६४ वर्षमा हजारौँ विद्यार्थी उत्पादन गरी स्वदेश तथा विदेशका विभिन्न उद्योग, निर्माण, ऊर्जा, अटोमोबाइल तथा प्राविधिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्।

    कार्यक्रममा प्राविधिक शिक्षालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइयो। प्रशिक्षकहरूको मनोबल उच्च राख्न, तालिम तथा प्रविधि अद्यावधिक गर्न, तथा उद्योगसँग सहकार्य बढाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने धारणा वक्ताहरूले राख्नुभयो।

    वार्षिकोत्सवका अवसरमा उत्कृष्ट विद्यार्थी, कर्मचारी तथा प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, नवप्रवर्तन प्रदर्शनी तथा प्राविधिक परियोजनाहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा अभिभावक, पूर्वविद्यार्थी, उद्योग क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

    ६४ वर्षको गौरवशाली इतिहास बोकेको यस शिक्षालयले आगामी दिनमा गुणस्तरीय, व्यवहारिक तथा रोजगारमुखी शिक्षा प्रदान गर्दै देशलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

  • महाशिवरात्रीमा सिलगढी–बासुधारा निःशुल्क बस सेवा सञ्चालन हुने।

    डोटी ,फागुन ०२

    सुबास नेपाली

    आगामी फागुन ३ गते पर्ने हिन्दूहरूको महान पर्व महाशिवरात्रीको अवसरमा आफ्नो बिद्यालयका श्रद्धालु अभिभावकहरुको सुविधालाई ध्यानमा राख्दै सिलगढीबाट तीर्थस्थल बासुधारासम्म निःशुल्क बस सेवा सञ्चालन गरिने भएको छ।
    श्री भागरती एकेडेमी सिलगढी–डोटीको आयोजनामा सञ्चालन हुने उक्त सेवा बिहानदेखि तय गरिएको समयसूची अनुसार दुई ट्रिपमा सेवा प्रदान गरिने बिधालयका प्रधानाध्यापक हेमराज मलासीले बताउनुभयो ।
    बिद्यालयको सुचना अनुसार
    बस छुट्ने स्थान तथा समय
    पहिलो ट्रिप
    जिरो पोइन्ट – बिहान ७:४०
    पुन्ना पेट्रोल पम्प – बिहान ८:०५
    चिसापानी – बिहान ८:२५
    सेती पुल – बिहान ८:४०
    दोस्रो ट्रिप
    जिरो पोइन्ट – बिहान १०:४०
    पुन्ना पेट्रोल पम्प – बिहान ११:०५
    चिसापानी – बिहान ११:२०
    सेती पुल – बिहान ११:३५
    बस फर्किने समय (बासुधाराबाट सिलगढी)
    पहिलो ट्रिप – बिहान ९:३०
    दोस्रो ट्रिप – दिउँसो १२:३० रहने तालिका रहेको छ।निःशुल्क बस सेवाले महाशिवरात्रीको अवसरमा बासुधारा दर्शन गर्न जाने अभिभावकहरुलाई सहज यात्रा प्रदान गर्ने उद्देश्य रहेको विद्यालयले जनाएको छ।

  • डोटीमा निर्वाचन आचारसंहिता, मतदान केन्द्र र सुरक्षा सम्बन्धी अन्तरक्रिया सम्पन्न।

    डोटी ,फागुन ०१
    सुबास नेपाली
    आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आचारसंहिता, मतदान केन्द्रको अवस्था तथा सुरक्षा व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम डोटीमा सम्पन्न भएको छ।

    निर्वाचन आचारसंहिता, मतदान केन्द्रको अवस्था तथा सुरक्षा व्यवस्थासम्बन्धी छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    कार्यक्रममा बोल्दै दिपायल–सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले आगामी निर्वाचनलाई सफलरूपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोग आवश्यक रहेको बताउनुभयो।
    उनले आफ्नो पालिका पनि निर्वाचनदेखि सुरक्षा व्यवस्थासम्म आवश्यक सबै सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो।
    स्थलगत अनुगमनमा सबैको सहयोग प्रशंसनीय — मुख्य निर्वाचन अधिकृत पाण्डे
    मुख्य निर्वाचन अधिकृत पदम राज पाण्डेले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबैको समन्वय अनिवार्य भएको बताउनुभयो।
    उनले स्थलगत अनुगमनका क्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय कार्यकर्ताबाट पाएको सहयोगले निर्वाचन तयारी सहज बनेको बताए।
    त्यसका साथै उनले सबै मतदान केन्द्रमा २–२ वटा CCTV क्यामेरा जडान गर्ने प्रक्रियामा पहल भइरहेको जानकारी पनि गराए।

    प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले निर्वाचन आचारसंहिताको पूर्ण पालना सबैका लागि बाध्यकारी हुने बताउनुभयो ।
    आचारसंहिता विपरीत कार्य गर्ने व्यक्तिबाट कानूनी कारबाही हुने चेतावनी दिँदै उनले निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र मर्यादित बनाउन सबैसँग सहयोगको आग्रह गर्नुभयो।
    उहाका अनुसार निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभर एक हप्ता पहिलेदेखि मदिरा बिक्रीवितरण बन्द गर्ने तयारी पनि गरिएको छ।

    कार्यक्रममा बोल्दै  जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र नेपालले निर्वाचनलाई स्वच्छ,निष्पक्ष डररहित रूपमा
    सम्पन्न गर्न सुरक्षा व्यवस्था थप कडा पारिने बताउनुभयो।
    उनका अनुसार सम्भावित जोखिम क्षेत्रहरूमा प्रहरी तैनाथी, गस्ती तथा निगरानी बढाइने पनि उहाको भनाई रहेको छ।

    कार्यक्रमको अध्यक्षता जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला अदालत डोटीका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत पदम राज पाण्डे प्रमुख आतिथि रहनु भएको थियो।

    जिल्ला प्रशासन कार्यालय डोटीको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, दिपायल–सिलगढी नगरपालिकाका जनप्रतिनिधि तथा वडा सचिवहरूको उपस्थितिमा छलफल गरिएको थियो।

  • डोटीमा वन्यजन्तु संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी बैठक सम्पन्न।

    डोटी, माघ २७
    सुबास नेपाली
    डोटीमा वन्यजन्तु संरक्षण, अपराध नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला स्तरिय वन्यजन्तु अपराध नियन्त्रण एकाईको बैठक सम्पन्न भएको छ।

    वन्यजन्तु नियन्त्रण आदेश २०८० मा बनेको व्यवस्थाअनुसार डिभिजन वन कार्यालय डोटीका वरिष्ठ डिभिजनल अधिकृत गोकुल रिजालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको उपस्थितिमा विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागितामा बैठक सम्पन्न भएको हो।
    बैठकमा हाल जिल्लामा भइरहेको वन्यजन्तु अपराध, वन पैदावारको चोरी–निकासी नियन्त्रण, मानव–वन्यजन्तु द्वन्द्वको अवस्था तथा संरक्षण व्यवस्थापनका प्रयास र प्रगतिबारे विस्तृत प्रस्तुति, समीक्षा र छलफल गरिएको थियो।

    बैठकले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तहहरूले आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्दा न्यूनिकरण शीर्षकमा आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्ने,डोटी जिल्लामा एक वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्न प्रदेश वन मन्त्रालय, निर्देशनालय तथा सहयोगी सरकारी/गैरसरकारी संस्थाहरूसँग अनुरोध गर्ने,घाइते तथा उद्दार आवश्यक वन्यजन्तुको उद्दारका लागि एक र्यापिड रेस्पोन्स टिम गठन गर्ने तथा उक्त टोलीलाई आवश्यक तालिम र सामग्री उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध गर्ने,मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, वन्यजन्तु संरक्षण तथा वन पैदावार चोरी–निकासी नियन्त्रणका लागि सबै सरोकारवाला निकायसँग प्रभावकारी समन्वय सुनिश्चित गर्न
    डिभिजन वन कार्यालय तथा खप्तड राष्ट्रीय निकुञ्जका सूचना अधिकारीलाई जिम्मेवार व्यक्तिका रूपमा तोक्ने,बैठक सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गर्ने र राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रति धन्यवाद ज्ञापन गर्ने निर्णय जस्ता निर्णय समेत गरेको वरिष्ठ डिभिजनल वन अधिकृत गोकुलले जानकारी दिनुभयो ।

  • डोटी गोल्डकप २०८२ चैत ५ गतेबाट सुरु हुने।

    डोटी माघ,२३
    सुबास नेपाली
    शिला स्थान युवा क्लबको आयोजनामा हुने डोटी गोल्डकप २०८२ आगामी चैत ५ गतेदेखि सुरु हुने भएको छ। यसअघि माघ महिनामा प्रतियोगिता सुरु गर्ने तयारी गरिएको भए पनि फागुन २१ गते हुने निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै कार्यक्रम पर सारिएको क्लबले जनाएको छ।
    आज शिला स्थान युवा क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष हिक्मत मलासीले प्रतियोगिता स्थगित गर्नुको कारण, नयाँ मिति तथा तयारीबारे जानकारी गराए। उनका अनुसार निर्वाचन प्रक्रियाका कारण स्थानीय प्रशासनले माघमा खेलकुद आयोजनामा चुनौती उत्पन्न हुने संकेत दिएपछि क्लबले प्रतियोगिता चैत महिनामा सार्ने निर्णय गरेको हो।
    अध्यक्ष मलासीले भने—
    “समुदाय, खेलप्रेमी तथा सहभागी टोलीहरूको सहजता सुनिश्चित गर्न हामीले प्रतियोगिताको मिति पर सार्नुपरेको हो।”
    “नयाँ मितिमा प्रतियोगिता झनै व्यवस्थित, भव्य र आकर्षक बनाउन क्लबले तयारी तीव्र बनाइसकेको छ,” भन्दै उनले प्रतियोगिताले स्थानीय खेल पर्यटन र प्रतिभा उत्थानमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
    क्लबका अनुसार गोल्डकपमा स्थानीय तथा बाहिरी जिल्लाका प्रतिष्ठित फुटबल टिमहरूको सहभागिता रहनेछ। खेल मैदान, सुरक्षा व्यवस्था, टिम व्यवस्थापन र पुरस्कार वितरण कार्यक्रमबारे पनि तयारी तीव्र पारिएको छ।

  • भागरती एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न।

    डोटी ,माघ २३
    सुबास नेपाली
    जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा श्री भागरती एकेडेमीमा एक दिने ट्राफिक सचेतना तथा विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ।

    सचेतना कार्यक्रम  अन्तर्गत विद्यार्थीहरूलाई सडक सुरक्षासँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा विस्तृत रूपमा जानकारी गराईएको बिधालयका प्रधानाध्यापक हेमराज मलासीले बताए।

    सचेतना तथा विद्यालय सम्पर्क कार्यक्रममा विद्यार्थिहरूलाई ट्राफिक नियमहरू र तिनको सही पालना,सडकमा प्रयोग हुने ट्राफिक चिन्ह तथा तिनको अर्थ,सुरक्षित यात्रा गर्न अपनाउनुपर्ने बानी र सतर्कता,
    ट्राफिक व्यवस्थापनमा विद्यार्थी तथा युवा वर्गकोभूमिका,
    तथा सडक दुर्घटना रोकथाममा व्यक्तिगत जिम्मेवारी
    बारे अन्तरक्रिया गरिएको थियो।
    कार्यक्रमका प्रशिक्षकहरूले विद्यालयस्तरमै ट्राफिक शिक्षाको महत्व औंल्याउँदै युवावस्थामा नै सही अनुशासन र ट्राफिक सचेतना विकसित गर्न सके आगामी दिनमा दुर्घटना न्यूनीकरणमा ठूलो योगदान पुग्ने बताए।
    कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

  • बिरेन्द्र मा.बी.घाङगल र बर्छैन मा.बी.बर्छैनको वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

    डोटी ,माघ ०९

    एकेन्द्र चन्द

    डोटी । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ३ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालय, घाङगलको ५१औं वार्षिकोत्सव कार्यक्रम  र बर्छैन माध्यामिक बिधालय बर्छैनको ६४ औं बार्षिक उत्सब कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
    कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले बिधालयमा बिधालय भवनको आवस्यकता रहेको र समस्या समधान गर्ने बताउनु भयो । उहाले पाहाडका बस्ती रितिदै जानुले थप समस्या हुँदै गएको र बसाइँसराइ रोक्न पहल गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । साथै बर्छैन माध्यामिक बिधालय डोटीको २ नम्बर क्षेत्रकै नमुना बिधालय भएको र बिधालयले राम्रो नतिजा देखि अनुशासन कायम गरि अरु बिधालय लाई सम्म प्रभावित पार्नु पर्ने बताउनु भयो । उहाँले सहजपुर बिपिनगर बोगटान दिपायल सडक खण्ड्को काम पनि अगाडी बढाइने बताउनु भयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले विद्यालयको उन्नति र प्रगतिको कामना गर्दै सुधारका लागि आवश्यक पहल गरिने बताए। साथै, गाउँबाट बसाइँसराइ तीव्र रूपमा बढिरहेको हुँदा विद्यालय सञ्चालनमा चुनौती थपिएको बताउनु भयो ।
    त्यस्तै बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बिद्यार्थीहरुले राम्रो सघ शिक्षा आर्जन गर्न सके मात्र समग्र पालिकाको बिकाश हुने बताउनु भयो ।
    त्यस्तै बडीकेदार गाउँपालिकाका निबर्तमान अध्यक्ष कृष्ण बहादुर चन्दले राजनिती समाजको लागि गर्नु पर्नेमा जोड दिदै बिधालयलाई आफुले सक्ने सहयोग गर्ने बताउनु भयो ।

    बर्छैन माध्यामिक बिधालयका प्रधानध्यापक  इन्द्र बहादुर बमले बिधालयको बार्षिक प्रगती सहित प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

    त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर गुरुङले शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
    वार्षिकोत्सव कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुति, सम्मान समारोह, तथा विद्यालयको ऐतिहासिक योगदान स्मरण गरिने गतिविधिहरू सम्पन्न भए। विगतदेखि विद्यालयको स्थापनामा योगदान पुर्‍याउने तथा विभिन्न समयमा सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी लगायत स्थानीय समुदायको विशेष सहभागिता रहेको थियो।

  • दिपायल सिलगढी नगरपालिका वडा नं–६ द्वारा विद्यार्थीलाई न्यानो स्विटर वितरण।

    डोटी, माघ ०८
    दिपायल सिलगढी नगरपालिका वडा नं. ६ को कार्यालयले विद्यार्थीहरूलाई जाडो मौसमबाट जोगाउने उद्देश्यले न्यानो स्विटर वितरण गरेको छ।


    वडाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत डोटीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत शिशु कक्षा देखि कक्षा ११ सम्मका जम्मा १ हजार ९४ जना छात्र–छात्रालाई करिब ५ लाख रुपैयाँ बराबरका स्विटर वितरण गरिएको वडा अध्यक्ष नरेश मलासीले जानकारी दिनुभयो।


    जाडो मौसममा विद्यार्थीहरूलाई चिसोबाट बचाई नियमित रूपमा विद्यालय उपस्थित हुन प्रेरित गर्ने तथा अध्ययनमा सहजता प्रदान गर्ने उद्देश्यले स्विटर वितरण गरिएको अध्यक्ष मलासीले बताउनुभयो । विद्यार्थीहरू न्यानो कपडाको अभावमा बिरामी नपरुन, विद्यालय नछोडून् भन्ने उदेश्य पनि रहेको उहाले बताउनुभयो ।
    विद्यालयका प्रधानाध्यापक केशव राज ओझाले स्विटर वितरण कार्यक्रमले विद्यार्थीहरूलाई जाडो मौसममा ठूलो राहत पुग्ने बताउँदै वडा कार्यालयको यस कार्यको प्रशंसा गर्नुभयो। यसले विद्यार्थीहरूको स्वास्थ्य र उपस्थितिमा सकारात्मक प्रभाव पार्ने पनि उहाले बताउनुभयो ।


    दिपायल सिलगढी नगरपालिका वडा नं ६ ले हरेक वर्ष आफ्ना वडाभित्र रहेका विद्यालयहरूमा पालैपालो विद्यालय पोशाक, शैक्षिक सामग्री वितरण तथा अन्य सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

  • पद्म पब्लिक मुक्ति नारायण माविको ७८औँ वार्षिकोत्सवमा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न

    डोटी, माघ ०८ — पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको ७८औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्तरविद्यालय स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता  सम्पन्न भएको छ।
    विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता तथा अनुसन्धानप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा विद्यार्थीहरूले विज्ञान र प्रविधिमा आधारित विभिन्न नवप्रवर्तनशील परियोजना, नमूना तथा प्रयोगात्मक सामग्रीहरू प्रस्तुत गरेका थिए।
    प्रतियोगिताको नतिजाअनुसार केदारेश्वर माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ भने भागरती एकेडेमीले द्वितीय स्थान प्राप्त गरेको छ। त्यसैगरी आयोजक विद्यालय पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय र दिल्पेश्वर माध्यमिक विद्यालय संयुक्त रूपमा तृतीय स्थानमा रहेका छन्। दुर्गा माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गरेको छ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक, स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी विद्यालयका विद्यार्थीहरूको प्रस्तुतीको मूल्याङ्कन विषयवस्तुको वैज्ञानिक आधार, प्रयोगात्मक क्षमता, नविनता तथा प्रस्तुतीकरणको शैलीका आधारमा गरिएको आयोजकले जनाएको छ।

    विद्यालयका प्रधानाध्यापक केशव राज ओझाले विज्ञान शिक्षा व्यवहारिक र जीवनोपयोगी बनाउन यस्ता प्रतियोगिताहरू प्रभावकारी हुने बताउँदै आगामी दिनमा समेत यस्ता शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो।