Author: Baduli

  • स्मार्ट एफ.एम. डोटीको ‘सानो सहयोग अभियान’ अन्तर्गत नारायण सिंहलाई ७३ हजार २४५ रुपैयाँ सहयोग हस्तान्तरण।

    डोटी, माघ ०८— सामुदायिक रेडियो स्मार्ट एफ.एम. डोटीले सञ्चालन गर्दै आएको ‘सानो सहयोग अभियान’ अन्तर्गत संकलित सहयोग रकम पूर्वीचौकी गाउँपालिका–४, सानागाउँ निवासी ७१ वर्षीय नारायण सिंहलाई हस्तान्तरण गरिएको छ।
    बिहीबार स्मार्ट एफ.एम. डोटीका प्रवन्ध निर्देशक दिपेन्द्र खड्काको नेतृत्वमा रेडियोको टोली सिंहको निवासमै पुगेर ७३ हजार २ सय ४५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो।
    गत पुस १७ गते नारायण सिंहको अत्यन्तै कमजोर पारिवारिक तथा आर्थिक अवस्थाबारे स्मार्ट एफ.एम. डोटीको आधिकारिक फेसबुक पेजमार्फत सामग्री प्रसारण भएपछि ‘सानो सहयोग अभियान’ सुरु गरिएको थियो। अभियानमा देश तथा विदेशमा रहेका ५२ जना सहयोगी दाताहरूको सहभागिता रहेको प्रवन्ध निर्देशक खड्काले जानकारी दिनुभयो।
    रकम हस्तान्तरण कार्यक्रममा बोल्दै खड्काले रेडियो केवल ध्वनि तरङ्गको साथी मात्र नभई समाजमा लुकेर बसेका, दबिएका तथा पीडित आम नागरिकको सुख–दुःखको साथी बन्नुपर्ने बताउनुभयो।
    उहाँले भन्नुभयो,
    “रेडियोले समयअनुसार प्रविधिको प्रयोग गर्दै समाजभित्र भइरहेका सबै गतिविधिमा प्रत्यक्ष संलग्न हुनुपर्छ। पीडामा परेकाको आवाज बुलन्द गर्नु नै सञ्चारकर्मीको मुख्य दायित्व हो।”
    सहयोग रकम बुझ्दै नारायण सिंहले पत्रकार दिपेन्द्र खड्काले आफ्नो वास्तविक अवस्था सबैसामु पुर्‍याइदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। साथै, देश–विदेशमा दुःख गरेर कमाएको रकम सहयोगस्वरूप उपलब्ध गराउने सम्पूर्ण दाताप्रति कृतज्ञता व्यक्त गर्दै यस सहयोगले आफ्नो दैनिकी चलाउन ठूलो राहत पुग्ने बताउनुभयो।
    नारायण सिंहको परिवारमा ६ जना सदस्य रहेका छन्, जसमध्ये ४ जनाको मानसिक सन्तुलन बिग्रिएको र परिवार सामाजिक सुरक्षा भत्ताको भरमा मात्र जीविकोपार्जन गर्दै आएको जनाइएको छ। नियमित आम्दानीको स्रोत नहुँदा उपचार, खानपिन तथा दैनिक खर्च जुटाउन परिवारलाई ठूलो समस्या हुँदै आएको थियो।
    स्थानीयवासीहरूले स्मार्ट एफ.एम. डोटीले सञ्चालन गरेको अभियानले समाजमा सकारात्मक सन्देश फैलाएको भन्दै प्रशंसा गरेका छन्। सञ्चार माध्यमले समाचार प्रसारणमा मात्र सीमित नरही प्रत्यक्ष मानवीय सेवामा समेत योगदान पुर्‍याउनु उदाहरणीय कार्य भएको उनीहरूको भनाइ छ।
    स्मार्ट एफ.एम. डोटीले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

  • डोटीमा प्रतिनिधि सभाको चुनावलाई लक्षित गरी राजनीतिक दलसँग अन्तरक्रिया।

    डोटी, माघ ०३
    सुबास नेपाली
    फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा भय–रहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


    जिल्ला निर्वाचन कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसलाई मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षको समान जिम्मेवारी रहेको बताउनुभयो। उहाँले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न, मतदातालाई डर, त्रास वा प्रलोभन नदिन तथा शान्तिपूर्ण वातावरण कायम राख्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो।


    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले हालसम्म जिल्लाको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताउनुभयो। केही मतदान स्थलहरूको अनुगमन गर्दा राजनीतिक दलहरूबाट सकारात्मक सहयोग प्राप्त भएको उल्लेख गर्दै उहाँले डोटी जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो। साथै, कुनै पनि किसिमका अवाञ्छित गतिविधि भए तत्काल प्रशासनलाई जानकारी गराउन दलका प्रतिनिधिहरूलाई अनुरोध गर्नुभयो।
    सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन अवधिभर आवश्यक सुरक्षा व्यवस्था कडा पारिने, संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी राखिने र मतदाता तथा उम्मेदवारको सुरक्षालाई उच्च प्राथमिकता दिइने जानकारी गराएका थिए।


    अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले पनि निष्पक्ष निर्वाचनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै प्रचार–प्रसार, मतदान र मतगणनाको क्रममा शान्ति सुरक्षा कायम राख्न प्रशासनसँग समन्वय गर्ने बताएका थिए। उनीहरूले मतदान केन्द्र व्यवस्थापन, मतदाता शिक्षालगायत विषयमा केही सुझावसमेत प्रस्तुत गरेका थिए।


    कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

  • डोटीमा भूकम्पपछिको खोज, उद्धार तथा राहत वितरणसम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न।

    डोटी, माघ ०३
    सुबास नेपाली
    डोटी जिल्लामा भूकम्पपछिको खोज, उद्धार तथा राहत वितरण सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति डोटीको आयोजना तथा डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गण र नेपाल सशस्त्र प्रहरी बल नं. ३६ गणको सहयोगमा उक्त अभ्यास सम्पन्न भएको हो।
    पश्चिम नेपाल भूकम्पीय जोखिमको उच्च क्षेत्रभित्र पर्ने भएकाले सम्भावित विपद्‌का समयमा अपनाउनुपर्ने सावधानी, प्रभावितहरूको खोज तथा उद्धार प्रक्रिया, र राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।
    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरे नेपालले पश्चिम नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणले संवेदनशील क्षेत्रमा रहेको उल्लेख गर्दै भूकम्प गएको खण्डमा के–कस्ता सावधानी अपनाउने, कसरी सुरक्षित रहने र प्रभावितहरूको छिटो तथा व्यवस्थित रूपमा खोज, उद्धार र राहत वितरण कसरी गर्ने भन्ने विषयमा जनचेतना अभिवृद्धि गरिनु आवश्यक रहेको बताउनुभयो।
    उहाँले जिल्लामा भूकम्प प्रतिकार्य योजना तयार पार्ने र जिम्मेवारी बाँडफाँड (विभाजन) गरी विभिन्न निकायबीच समन्वयका साथ तयारी गरिरहेको जानकारी दिनुभयो। “विपद् आइपुग्नु अघि नै तयारी गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो,” उहाँको भनाइ थियो।

    भैरवप्रसाद गणका सेनानी लोक बहादुर बोगटीले डोटी जिल्ला पनि भूकम्पीय जोखिममा रहेको उल्लेख गर्दै आकस्मिक अवस्थामा अपनाउनुपर्ने सुरक्षा उपाय, घाइते तथा पुरिएका व्यक्तिको उद्धार गर्ने तरिका, अस्थायी उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत सामग्री वितरणका विषयमा सेनाले निरन्तर अभ्यास र तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाइने पनि बताउनुभयो।

    यसैगरी भैरवप्रसाद गणका सह–सेनानी आशुतोष झाले डोटीस्थित सिलगढी बजार क्षेत्रमा पुराना तथा कमजोर संरचनाका घरहरू धेरै रहेकाले यहाँ भूकम्पीय जोखिम उच्च रहेको बताउनुभयो। जोखिम न्यूनीकरणका लागि समय–समयमा जनचेतनामूलक कार्यक्रम, अभ्यास तथा तालिम सञ्चालन गरिँदै आएको उहाँले जानकारी दिनुभयो।
    कृत्रिम घटना अभ्यासका क्रममा भूकम्प गएपछि हुने अवस्थाको प्रतिरूप सिर्जना गरी घाइतेको उद्धार, भग्नावशेष हटाउने, प्राथमिक उपचार गर्ने, अस्थायी शिविर स्थापना गर्ने र राहत सामग्री वितरण गर्ने अभ्यास गरिएको थियो। साथै, भैरवप्रसाद गणद्वारा भूकम्पपछिको खोज, उद्धार तथा राहत कार्यमा प्रयोग हुने विभिन्न उपकरण तथा सामग्रीबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
    आयोजकका अनुसार यस्ता अभ्यासहरूले सम्भावित विपद्का बेला जनधनको क्षति न्यूनिकरण गर्न, सरोकारवाला निकायबीच समन्वय बढाउन र आम नागरिकलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

  • डोटीमा चौथो कृषि जैविक विविधता दिवस सम्पन्न।

    डोटी, माघ १
    सुबास नेपाली
    कृषि जैविक विविधताको संरक्षण, उपयोग तथा प्रवर्द्धनमा युवाको सहभागिता बढाउने उद्देश्यका साथ डोटीमा चौथो कृषि जैविक विविधता दिवस सम्पन्न भएको छ।
    कृषि ज्ञान केन्द्र, डोटीको आयोजनामा दिपायलस्थित होटेल रिभर साइडको सभाहलमा आयोजित कार्यक्रममा कृषि क्षेत्रमा रहेका स्थानीय बाली, बीउबिजन, परम्परागत कृषि प्रणाली, र जैविक विविधताको संरक्षणको महत्वबारे व्यापक छलफल गरिएको थियो।
    कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख दुर्गा दत्त ओझाले जैविक विविधताको संरक्षण नगरे भविष्यमा खाद्य सुरक्षा संकटमा पर्न सक्ने र वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने चेतावनी दिनुभयो। उहाँले परम्परागत बीउबिजन र स्थानीय जातका बालीहरू लोप हुँदै गएको उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

    उहाँले युवाहरूलाई आधुनिक प्रविधिसँगै परम्परागत कृषि प्रणालीलाई आत्मसात गर्दै व्यावसायिक र दिगो कृषि अभ्यासमा लाग्न आग्रह गर्नुभयो। “कृषि क्षेत्रको दिगो विकासका लागि जैविक विविधताको संरक्षण अपरिहार्य छ,” उहाँले भन्नुभयो।
    कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष गणेश भण्डारीले कृषकहरू उत्पादनदेखि बजारीकरणसम्म विभिन्न समस्यामा रहेको बताउँदै स्थानीय तहले कृषकका समस्या समाधान गर्न नीति तथा कार्यक्रममार्फत सहयोग बढाउनुपर्ने धारणा राख्नुभयो। उहाँले कृषिलाई सम्मानजनक पेशाको रूपमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
    नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले कृषकले उत्पादन गरेका कृषि उपज वस्तुले सहज रूपमा बजार नपाउने गुनासो बारम्बार आउने गरेको बताउनुभयो। उहाँले उत्पादनसँगै बजार व्यवस्थापन, भण्डारण तथा मूल्य सुनिश्चिततामा सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो। “बजार सुनिश्चित नभएसम्म कृषक निरुत्साहित हुने अवस्था रहन्छ,” उहाँको भनाइ थियो।
    कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर, स्थानीय जातका बाली संरक्षण, जैविक खेती प्रवर्द्धन, तथा युवालाई कृषिमा आकर्षित गर्ने उपायबारे आ–आफ्ना धारणा राखेका थिए।
    कार्यक्रमले कृषि जैविक विविधताको संरक्षणप्रति स्थानीय तह, कृषक र युवाहरूमा थप चेतना अभिवृद्धि गर्नुका साथै दिगो कृषि विकासका लागि सामूहिक प्रतिबद्धता जनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

    कार्यक्रममा कृषि क्षेत्रमा उत्कृष्ट काम गरेका ३ जना किसानहरुलाई प्रशंसा पत्र र नगद सहिद सम्मान गरिएको थियो।
    कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका कृषक, युवा, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा कृषि प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • बिपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण।

    डोटी, पौष २४
    सुबास नेपाली
    डोटीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।
    जर्नी अफ होप फाउन्डेसन युएसएको सहयोग, जर्नी अफ होप फाउन्डेसन नेपालको आयोजना तथा दलित महिला संघ (FEDO) को सह–आयोजनामा विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो।
    आयोजकका अनुसार छात्रवृत्ति स्वरूप प्रत्येक विद्यार्थीलाई ६ हजार रुपैयाँका दरले कुल ४२ हजार रुपैयाँ वितरण गरिएको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा सीमा सोप, विवेक गहतराज, आकृति सोप, पूजा विक, सुसान सोप, लक्ष्मी ठकुल्ला र तुलसी भण्डारी रहेका छन्।
    अमेरिकामा बसोबास गर्दै आउनुभएका सामाजिक विकास विज्ञ तथा समाजसेवी कृष्ण सोपले आफ्नी ममतामयी आमाको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको अधिकारकर्मी दुर्गा सोपले जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षा नै सामाजिक रूपान्तरणको मुख्य आधार भएकाले लक्षित वर्गका बालबालिकालाई निरन्तर सहयोग गरिने पनि बताउनुभयो ।

    छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खडकाले यस्ता किसिमका सहयोग कार्यक्रमहरूले बिपन्न तथा सीमान्तकृत बालबालिकाको शिक्षामा पहुँच बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय तह यस्ता पहलहरूसँग सहकार्य गर्न सधैं तयार रहेको धारणा व्यक्त गर्नुभयो।
    त्यसैगरी समाजसेवी कृष्ण सोपले आफूले अध्ययन गरेको विद्यालय र हुर्किएको स्थानमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा छात्रवृत्तिको रकम र लाभग्राही विद्यार्थीको संख्या थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    कार्यक्रममा समाजसेवी कृष्ण सोप तथा उहाँकी धर्मपत्नी, अधिकारकर्मी दुर्गा सोप, नगर प्रमुख बाजी सिंह खड्का, नगर उप–प्रमुख कलावती साउद, वडा नं. ५ का वडा अध्यक्ष गणेश भण्डारी, छात्रवृत्ति प्राप्त विद्यार्थीहरू, अभिभावकहरू, दलित महिला संघ (FEDO) का कर्मचारी तथा समिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  • दलित महिला संघ (FEDO) डोटी शाखा भवनको उद्घाटन सम्पन्न।

    डोटी, — दलित महिला संघ (FEDO) डोटी शाखाको आफ्नै भवनको उद्घाटन सम्पन्न भएको छ। दलित महिला संघ फेडोकी संस्थापक अध्यक्ष दुर्गा सोपले एक विशेष कार्यक्रमका बीच उक्त भवनको उद्घाटन गर्नुभएको हो।
    लामो समयदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको दलित महिला संघ डोटी शाखाले हाल आफ्नै भवन खरिद गरी कार्यालय स्थापना गरेको हो। यसले संस्थाको दिगोपन, सुदृढीकरण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।
    उद्घाटन कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष दुर्गा सोपले डोटी शाखाले आफ्नै कार्यालय भवन खरिद गर्न सफल हुनु गर्वको विषय भएको बताउनुभयो। उहाँले यस महत्वपूर्ण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै संघ–संस्था, दातृ निकाय तथा व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले दलित महिलाको हक, अधिकार र सशक्तीकरणका लागि फेडो निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    उहाले आफ्नै भवनबाट सेवा सञ्चालन गर्न पाउनु संस्थागत सशक्तीकरणको महत्वपूर्ण उपलब्धि भएको बताउँदै दलित महिलाको सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरणका लागि फेडोको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गर्नुभयो ।
    कार्यक्रममा संस्थाको उद्देश्य, गतिविधि तथा हालसम्मका उपलब्धिबारे जिल्ला परियोजना संयोजक शंकर विश्वकर्माले जानकारी गराउनुभएको थियो। उहाँले दलित महिलामाथि हुने विभेद, हिंसा र बहिष्करणविरुद्ध फेडोले गर्दै आएको काम र आगामी योजनाबारे समेत प्रकाश पार्नुभयो।
    उद्घाटन कार्यक्रममा सामाजिक विकास विज्ञ तथा समाजसेवी कृष्ण सोप, ललिता सोप, दलित महिला संघ केन्द्रीय महासचिव रेनु सिजापती, केन्द्रीय व्यवस्थापकहरू सुरेश बिक, नरेश सोप लगायत विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  • डोटीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित योजनाको संयुक्त अनुगमन।

    डोटी ,पौष १९
    सुबास नेपाली
    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराको आयोजनामा डोटी जिल्लाका दिपायल सिलगढी नगरपालिका वडा नं ३ खैरतोला तथा शिखर नगरपालिका वडा नं १० बानडुङ्ग्री सैँनमा सञ्चालित कृषि योजनाहरूको संयुक्त अनुगमन सम्पन्न भएको छ।
    कृषि क्षेत्रको उत्पादन वृद्धि, व्यावसायिक कृषिको विकास तथा किसानको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले सञ्चालनमा रहेका योजनाहरूको स्थलगत अनुगमन गरिएको हो। अनुगमनका क्रममा योजनाको कार्यान्वयन अवस्था, प्राविधिक पक्ष, किसानको सहभागिता, प्राप्त उपलब्धि तथा देखिएका चुनौतीहरूबारे छलफल गरिएको थियो।

    संयुक्त अनुगमनमा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खडका, नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पिताम्बर बस्नेत,कृषि ज्ञान केन्द्र प्रमुख ,भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्रतिनिधि, दुवै पालिकाका कृषि शाखा प्रमुखहरू, प्राविधिक कर्मचारी तथा सरोकारवाला किसानहरूको उपस्थिति रहेको थियो।
    अनुगमनका क्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख सिंहले कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई प्रविधिमैत्री र व्यावसायिक बनाउँदै लगेको बताउँदै योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न जोड दिए।
    नगर प्रमुख बाजि सिंह खडकाले स्थानीय सरकार कृषकको हितमा केन्द्रित रहेको उल्लेख गर्दै उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
    त्यसैगरी कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पिताम्बर बस्नेतले योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिँदै किसानको आवश्यकता अनुसार प्रविधि र सहयोग विस्तार गरिने बताए। अनुगमनका क्रममा किसानहरूले आफ्ना अनुभव, समस्या र सुझावसमेत राखेका थिए।
    अनुगमन टोलीले देखिएका कमजोरी सुधार गर्न र आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्न सम्बन्धित कृषक समूह र कृषकहरुलाई लाई निर्देशन दिएको छ।

  • दिपायल सिलगढी नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्पन्न।

    डोटी ,पौष १८
    सुबास नेपाली
    दिपायल सिलगढी नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ का लागि लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GESI) परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
    सेवा प्रवाहलाई समावेशी तथा पहुँचयोग्य बनाउने, नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर प्रमुख बाजी सिंह खड्काले बताउनुभयो। उहाँका अनुसार स्थानीय तहका योजना, कार्यक्रम र सेवामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्रभावकारी रूपमा लागू गर्न यस्तो परिक्षण महत्त्वपूर्ण रहेको पनि उहाले बताउनुभयो ।

    नगरपालिकामा आयोजित उक्त परिक्षण कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा लैङ्गिक समानता प्रवर्द्धन, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशी विकासका अभ्यास तथा स्थानीय तहमा समावेशी नीति कार्यान्वयनका विषयमा स्वतन्त्र विज्ञ देबेन्द्र गुरुङले सहजीकरण गर्नुभएको थियो।
    कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का, उप–प्रमुख कलावती महरा साउद, विभिन्न वडाका वडा अध्यक्षहरू, सरोकारवाला निकायहरू, समुदायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

  • दलित महिला संघ(फेडो)डोटीको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न।

    दलित महिला संघ फेडो डोटी को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
    दिपायल सिलगढी नगरपालिकाको सभाहलमा आज भएको कार्यक्रममा संस्थाले आ.व. २०८१/०८२ भित्र सञ्चालन गरेका विभिन्न कार्यक्रमहरू, प्राप्त उपलब्धिहरू, सामना गर्नुपरेका चुनौतीहरू तथा आय–व्यय विवरण सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो।
    सामाजिक परीक्षण कार्यक्रममा संस्थाको कार्य सम्पादन बारे सहभागीहरूले सुझाव, सल्लाह तथा प्रतिक्रिया दिएका थिय। कार्यक्रममा आएका सुझाव, सल्लाह तथा प्रतिक्रिया आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गरिने दलित महिला संघ कि अध्यक्ष सरिता दयालीले बताईन।

    सामाजिक परीक्षण कार्यक्रमले संस्थागत पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन भएका कारण संस्थागत पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन गर्ने उदेश्यले सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरिएको दलित महिला संघ फेडोका जिल्ला परियोजना संयोजक संकर बिश्वकर्माले बताए।
    कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खडका ,उप प्रमुख कलावती महरा साउद ,वडा अध्यक्ष सरोकारवाला निकायहरू, समुदायका प्रतिनिधि, लाभग्राही, सञ्चारकर्मी तथा संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

  • राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन।

    काठमाडौं, पौष १६
    तिर्थ नेपाली
    राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। काठमाडौंस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय सभाहलमा सम्पन्न अधिवेशनले बसन्त परियारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
    नवगठित कार्यसमितिको उपाध्यक्षमा विष्णु वि.क. र चण्डिका नेपाली चयन हुनुभएको छ। सचिवमा गोपाल विश्वकर्मा (चितवन), सहसचिवमा तिर्थ नेपाली तथा कोषाध्यक्षमा राजकुमार नेपाली चयन हुनुभएको छ।
    त्यसैगरी सदस्यहरूमा कमल वि.क., सुक्रराज मग्राती, विनित तिरुवा, भरत वि.क., अतिना परियार र उपेन्द्र लुहार चयन हुनुभएको संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो।

    नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले खादा लगाएर सम्मान प्रकट गर्नुभएको थियो।
    अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले दलित समुदायको आय–आर्जनसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले संविधानमा व्यवस्था गरिएको दलित समुदायको हक–अधिकारको रक्षा र प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो।
    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जीतु गौतम, दलित मुक्ति मोर्चाका अध्यक्ष तथा पूर्व मन्त्री दलजीत श्रीपाइली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद प्रसाद बागचन्दलगायत वक्ताहरूले राष्ट्रिय दलित पत्रकार संघको गतिविधि तथा योगदानको प्रशंसा गर्नुभएको थियो।

    अधिवेशन संघका संस्थापक तथा कार्यवाहक अध्यक्ष कमल कुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा दलित आन्दोलनका अगुवा तथा देशभरका विभिन्न जिल्लाबाट आएका दलित पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।