Author: Baduli

  • डोटी स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गण सम्मानित

    डोटी, जेठ २२
    सुबास नेपाली 
    डोटीस्थित नेपाली सेनाको श्री भैरव प्रसाद गण सम्मानित भएको छ। दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सुरु भएको दोस्रो मेयर कप प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा गणका गणपति प्रमुख सेनानी कमल सिंह बिष्टलाई सम्मान गरिएको हो।
    जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह तथा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खडकाले कदरपत्र तथा दोसल्ला ओढाएर प्रमुख सेनानी बिष्टलाई सम्मान गर्नुभएको थियो।
    दिपायल सिलगढी नगरपालिकाका अनुसार गणले जिल्लाको धार्मिक, सामाजिक, ऐतिहासिक, खेलकुद तथा पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
    उद्घाटन समारोहमा खेलकुदका क्षेत्रमा योगदान पुर्‍याउने अन्य व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। वडा अध्यक्ष नरेश मलासी, राष्ट्रिय भलिबल खेलाडी जनक खडका तथा कृष्ण भण्डारीलाई खेलकुद  क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
    दोस्रो मेयर कप प्रतियोगिताको उद्घाटनसँगै आयोजित सम्मान कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, खेलाडी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • सिलगढीमा दोस्रो  मेयर कप भलिबल प्रतियोगिता सुरु।

    डोटी, जेठ २२
    सुबास नेपाली
    डोटीको सिलगढीमा दोस्रो मेयर कप भलिबल  प्रतियोगिता सुरु भएको छ। दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सिलगढीस्थित टुँडिखेल खेलमैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो।
    खेलकुदको विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धा तथा खेलाडी उत्पादन गर्ने  उद्देश्यले आयोजना गरिएको नगरस्तरीय प्रतियोगितामा नगरपालिकाका नौवटा वडाका ९ वटा टोली सहभागी रहेका छन्। प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

    नगरपालिकाका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. ५१हजार १ सय ११, द्वितीय हुने टोलीले रु. ३० हजार १ सय ११ तथा तृतीय हुने टोलीले रु. २०हजार १ सय ११ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विजेता टोलीहरूलाई मेडल,ट्रफी  र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
    दिपायल सिलगढी नगरपालिकाले खेलकुद क्षेत्रको वृद्धि गर्न आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने जनाएको छ। प्रतियोगिताका खेलहरू सिलगढीस्थित टुँडिखेल खेलमैदानमा सञ्चालन भइरहेको छ।
    प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंह,दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिं खडका,उप प्रमुख कलावती महरा साउद,प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल ,भैरव प्रसाद गणका गणपति कमल सिंह बिष्ट , नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।प्रतियोगिता जेठ २४ गते सम्म चल्ने छ।

  • डोटीमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    डोटी, जेठ २२
    सुबास नेपाली
    “समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नाराका साथ डोटीमा विश्व वातावरण दिवस २०८३ विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा दिपायल सिलगढी नगरपालिका–७ पैयुँभज्याङस्थित श्री भैरव प्रसाद गणको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।
    डिभिजन वन कार्यालय डोटीको आयोजना तथा सरोकारवाला निकायहरूको सहभागितामा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख सिंहले वन तथा जंगल मानव जीवनका लागि अपरिहार्य सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै नागरिकले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले वातावरणीय सन्तुलन कायम राख्न र भावी पुस्ताका लागि हरियाली जोगाइराख्न वृक्षारोपण तथा वन संरक्षण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।


    त्यसैगरी डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले वातावरण संरक्षण र हरित विकासमा टेवा पुर्‍याउने उद्देश्यले सामूहिक रूपमा विभिन्न प्रजातिका बिरुवा रोपिएको जानकारी दिनुभयो। वृक्षारोपणले जैविक विविधता संरक्षण, भू–क्षय नियन्त्रण तथा स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो।
    प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका असरहरू बढ्दै गएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि वृक्षारोपण प्रभावकारी उपाय भएको बताउनुभयो। उहाँले प्राकृतिक स्रोतको संरक्षण, वन क्षेत्रको विस्तार तथा वातावरणमैत्री विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

    कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, श्री भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कमल सिंह बिष्ट, जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक सागर बोहरा, सशस्त्र प्रहरी बल नम्बर ३६ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शिवप्रसाद गैरे, डिभिजन वन कार्यालयका प्रमुख गोकुल रिजाल, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत ललित नारायण चौधरी, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख श्याम श्रेष्ठ, डिभिजन वन कार्यालयका कर्मचारी, भैरव प्रसाद गणका अधिकृत तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।

  • प्रथम उपमेयर कप महिला कबड्डीको उपाधि वडा नं. ६ लाई

    डोटी, जेठ २१

    सुबास नेपाली

    दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सिलगढीस्थित टुँडिखेल खेलमैदानमा सम्पन्न प्रथम उपमेयर कप महिला कबड्डी प्रतियोगिताको उपाधि दिपायल सिलगढी नगरपालिका वडा नं. ६ ले जितेको छ।

    फाइनल खेलमा वडा नं. ७ लाई पराजित गर्दै वडा नं. ६ ले उपाधिमाथि कब्जा जमाएको हो। प्रतियोगितामा नगरपालिकाभित्रका पाँच वटा टोली सहभागी भएका थिए।

    समापन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती महर साउदले महिलाहरूमा खेलकुदको विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता खेलकुद गतिविधिले महिलाहरूलाई खेल क्षेत्रमा थप अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रमका अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको स्मरण गराउँदै महिला कबड्डी प्रतियोगिताले महिलाहरूमा थप हौसला र उत्साह प्रदान गरेको बताउनुभयो।

    प्रतियोगितामा प्रथम हुने वडा नं. ६ ले नगद रु. ३० हजार १ सय ११, द्वितीय हुने वडा नं. ७ ले रु. २० हजार १ सय ११ तथा तृतीय हुने वडा नं. ९ ले रु. १० हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरेका छन्। साथै विजेता टोलीहरूलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

    नगरस्तरीय प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामार्फत महिला खेलाडीहरूको प्रतिभा प्रस्फुटन हुनुका साथै खेलप्रति आकर्षण बढाउन महत्वपूर्ण योगदान पुगेको आयोजकको विश्वास छ।

    दिपायल सिलगढी नगरपालिकाका खेलकुद शाखा प्रमुख राजबहादुर खड्काले नगरपालिकाले खेलकुद क्षेत्रको विकास तथा महिलाहरूको सहभागिता वृद्धि गर्न आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने बताउनुभयो।

  • डोटीमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सचेतना कार्यक्रम

    डोटी ,जेठ २१
    सुबास नेपाली
    जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
    “दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन” भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
    दलित महिला संघ (फेडो) डोटीको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय डोटीको समन्वयमा सम्पन्न कार्यक्रममा जातीय भेदभाव तथा छुवाछूत विरुद्धका कानुनी व्यवस्था, सामाजिक प्रभाव तथा यसको अन्त्यका लागि युवापुस्ताले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो।
    कार्यक्रममा दलित महिला संघ डोटीका जिल्ला परियोजना संयोजक शंकर विश्वकर्माले नेपालमा छुवाछूत अन्त्यका लागि भएका कानुनी तथा नीतिगत व्यवस्थाबारे प्रस्तुति दिनुभएको थियो। उहाँले जातीय विभेद तथा छुवाछूत कानुनतः दण्डनीय अपराध भएको भन्दै यसको अन्त्यका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो।
    कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कर्णबहादुर बिष्टले समानता, सामाजिक न्याय र मानवअधिकारको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले विभेदरहित समाज निर्माणका लागि सबै समुदायबीच आपसी सम्मान र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।


    दलित महिला संघ (फेडो) डोटीकी अध्यक्ष सरिता दयालीले समाजबाट जातीय भेदभाव र छुवाछूत जस्ता कुप्रथाको अन्त्य गर्न विद्यालय तहदेखि नै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो। उहाँले युवा पुस्ता परिवर्तनका संवाहक भएकाले उनीहरूलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो।

    त्यस्तै जिल्ला प्रहरी कार्यालयका सई रामनाथले कानुनले निषेध गरेको जातीय विभेद र छुवाछूतलाई समाजका सबै तह र तप्काले मिलेर उन्मूलन गर्नुपर्ने बताउनुभयो।
    कार्यक्रममा अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय डोटीका सई रामनाथ, योगेश गुरुङ तथा बबीकुमार बिसि सहभागिता रहेको थियो। सो
    कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभेदरहित समाज निर्माणका लागि आफूहरू सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता दलित महिला संघ (फेडो) डोटीकी अध्यक्ष सरिता दयालीले गर्नुभएको थियो।

  • गङ्गा–दशहरा मेलामा पृतना पति उपरथी केशीद्वारा धार्मिक परम्परा अनुसार पूजापाठ।

    डोटी,जेठ१२
    सुबास नेपाली
    सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीका दिन लाग्ने ‘गङ्गा–दशहरा’ मेलाको सुदूर पश्चिम पृतना हेडक्वार्टरका पृतना पति उपरथी किरण के.सीले धार्मिक परम्परा अनुसार गर्नुका  त्रिवेणी र सहस्र लिंग क्षेत्रमा पूजापाठ गरेका छन्।
    सुदूर पश्चिम पृतना हेडक्वार्टरका अनुसार हरेक वर्ष गङ्गा–दशहरा मेलाको अवसरमा पृतना पतिले खप्तड क्षेत्रको धार्मिक परम्परा अनुसार पूजापाठ गर्ने प्रचलन अनुरूप यस वर्ष पनि धार्मिक स्थलहरूमा पूजाआजा गरिएको हो।
    खप्तड भ्रमणका क्रममा उपरथी केशीले बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका र नाट्यश्वरी,अछामको बरदादेबी  तथा डोटीको शैलेश्वरी मन्दिरमा समेत दर्शन तथा पूजापाठ गरेका छन्।
    गङ्गा–दशहरा मेलामा त्रिवेणीमा स्नान तथा पूजापाठ सम्पन्न गरेपछि शैलेश्वरी मन्दिरमा दर्शन गर्ने परम्परा अनुसार शैलेश्वरी पुगेका उपरथी केशीले सुदूरपश्चिममा रहेका धार्मिक तथा पर्यटकीय सम्पदाहरूको संरक्षणमा सबै पक्षको ध्यान जानुपर्ने बताएका छन्।
    उनले खप्तड, बडिमालिका, नाट्यश्वरी, शैलेश्वरी, रामारोशन लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूले सुदूरपश्चिमको पहिचान र सम्भावनालाई उजागर गरेको उल्लेख गर्दै यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए।
    नेपाली सेनाले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षणमा निरन्तर योगदान पुर्‍याउँदै आएको स्मरण गराउँदै उपरथी केशीले यी सम्पदाको दीर्घकालीन संरक्षणमा स्थानीय बासिन्दाको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे।
    मेलामा सहभागी हुन आएका श्रद्धालु भक्तजन तथा पर्यटकहरूको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी पनि उनले दिए। उक्त शिविरमार्फत मेलामा आएका सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ।

  • डोटीमा विपद् उद्धार तथा प्रतिकार्य “मनसुन–६” कृत्रिम घटना अभ्यास प्रदर्शन

    जेठ ८,डोटी
    सुबास नेपाली

    डोटी जिल्लामा मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले विपद् उद्धार तथा प्रतिकार्य “मनसुन–६” को कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ।
    दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती नदीमा जिल्ला विपद् व्यवस्थापन समिति डोटीको आयोजना तथा डोटीस्थित नेपाली सेनाको श्री भैरव प्रसाद गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नं. ३६ गणको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। श्री भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कमल बहादुर बिष्टका अनुसार सम्भावित बाढी तथा अन्य प्राकृतिक विपद्का समयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अभ्यास गरिएको हो।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले डोटी जिल्ला बहुपक्षीय विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै यस्ता कृत्रिम अभ्यासले सम्भावित जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले बाढी प्रभावितहरूको तत्काल उद्धार, राहत वितरण, सूचना सङ्कलन, फौज परिचालन, साधन स्रोत व्यवस्थापन तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्न यस्ता अभ्यास उपयोगी हुने बताउँदै स्थानीय तहहरूले उद्धार तथा राहतका लागि आवश्यक सामग्री व्यवस्थापनमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।
    जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले मनसुन नजिकिँदै गएको अवस्थामा भारी वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीहरूमा बाढी र पहिरोको जोखिम बढ्ने भएकाले कृत्रिम घटना अभ्यास आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै विपद्का बेला स्थानीयवासी र सुरक्षाकर्मीहरूले कसरी उद्धार कार्य सञ्चालन गर्ने भन्ने विषयमा अभ्यासले महत्वपूर्ण जानकारी प्रदान गरेको उल्लेख गर्नुभयो।
    त्यस्तै, डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले मनसुन सुरु हुनुअघि गरिने यस्ता अभ्यासले जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताउनुभयो। उहाँले गर्मी बढेसँगै हुन सक्ने वन डढेलो नियन्त्रणका लागि पनि कार्यालयले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो।
    मनसुन सुरु भएसँगै अघिल्ला वर्षहरूमा डोटी जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको तथ्याङ्क रहेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले विपद् सम्बन्धी पूर्वतयारी, समन्वय र उद्धार क्षमताको विकासका लागि यस्ता अभ्यासलाई निरन्तरता दिएको जनाएको छ।
    समापन:
    मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको अवस्थामा डोटीमा गरिएको “मनसुन–६” कृत्रिम घटना अभ्यासले सुरक्षाकर्मी, स्थानीय तह र सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्दै विपद्का बेला प्रभावकारी उद्धार तथा राहत कार्य सञ्चालन गर्न महत्वपूर्ण आधार तयार गरेको अपेक्षा गरिएको छ।

  • व्यवसायीक तरकारी उत्पादन तालिम सुरु

    डोटी जिल्लामा व्यवसायिक तरकारी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने तालिम सिलगढीमा सुरु गरिएको छ।
    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम डडेल्धुराको आयोजनामा सुरु भएको तालिममा जिल्लाका पाँच वटा पालिकाबाट २० जना किसानहरुको सहभागिता रहेको छ।
    किसानहरुलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादनसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कार्यक्रमका प्रमुख पिताम्बर बस्नेत ले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा व्यवसायिक कृषक उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको हो।


    बस्नेतले बजारको आवश्यकता र खपतको आधारमा तरकारी खेती गर्न किसानहरुलाई आग्रह गर्दै उत्पादनलाई बजारसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
    यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह ले सरकारले उपलब्ध गराउने सेवा सुविधा वास्तविक किसानहरुले मात्र पाउने बताउनुभयो। अनुदानका लागि मात्र अस्थायी रुपमा किसान बन्ने प्रवृत्तिमाथि निगरानी गरिने उहाँको भनाइ छ।
    चैत्र १० गतेदेखि सुरु भएको तालिम चैत्र १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

  • डोटी गोल्डकप प्रतियोगिता हाललाई स्थगित ।

    डोटी — शिला स्थान युवा क्लबको आयोजनामा सञ्चालन हुन लागेको “डोटी गोल्डकप २०८२” प्रतियोगिता स्थगित गरिएको छ। यसअघि यही चैत्र ५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता अर्को सूचना नआएसम्मका लागि रोकिएको क्लबले जनाएको छ।
    क्लबका अध्यक्ष हिक्मत मलासीका अनुसार नजिकिँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा आधारभूत तह (बीएलई) लाई मध्यनजर गर्दै प्रतियोगिताको मिति सारिएको हो। परीक्षाका कारण विद्यार्थी, खेलाडी तथा अभिभावकहरूलाई असहज नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अध्यक्ष मलासीले जानकारी दिनुभयो।
    उहाँका अनुसार प्रतियोगिता पूर्ण रूपमा रद्द नभई केवल स्थगित गरिएको हो र चैत्र महिनाभित्रै नयाँ मिति निर्धारण गरी प्रतियोगिता सञ्चालन गरिनेछ।
    डोटी गोल्डकप जिल्लाकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक मानिन्छ, जसमा स्थानीय तथा बाहिरी टिमहरूको सहभागिता रहने गर्दछ। प्रतियोगिता स्थगित भएपछि खेलप्रेमीहरूमा केही निराशा देखिए पनि परीक्षा प्राथमिकतामा राख्दै गरिएको निर्णयलाई सकारात्मक रूपमा लिइएको छ।

  • महिला तथा बालबालिकामाथि बढ्दो हिंसाविरुद्ध गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र।

    डोटी ,चैत्र ०१
    सुबास नेपाली

    देशका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि बढ्दै गएका बलात्कार तथा हत्या घटनाप्रति चिन्ता व्यक्त गर्दै डोटीका सरोकारवालाहरूले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
    स्थानीय सरोकारवाला निकाय र अधिकारकर्मीहरुले गृहमन्त्रीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत उक्त ध्यानाकर्षण पत्र पठाएका हुन्।
    पत्रमा हालै कंचनपुर ,बैतडी र सुर्खेत जिल्लामा बालिकामाथि भएको सामूहिक बलात्कारको घटनाप्रति गम्भीर दुःख र आक्रोश व्यक्त गरिएको छ।
    यस्तै,ध्यानाकर्षण पत्रमा फागुन २३ गते सुर्खेतकि १६ वर्षीया किशोरी इन्सा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटना, कैलालीसहित विभिन्न जिल्लामा भएका महिला हिंसाका घटनाहरू उल्लेख गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ।

    पत्रमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाले समाजको सुरक्षा संरचना र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक रूपमा महिला तथा बालबालिका बलात्कारको शिकार हुने गरेको भन्दै राज्यले सुरक्षा र न्याय सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ।
    साथै यस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई कुनै पनि प्रकारको राजनीतिक, प्रशासनिक वा सामाजिक संरक्षण नदिई प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ। पीडितलाई न्याय दिलाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले ठोस कदम चाल्नुपर्ने पत्रमा उल्लेख गरिएको छ।

    ध्यानाकर्षण पत्र जिल्ला स्थित दलित महिला संघ फेडो,सम बिकास केन्द्र ईडिसी नेपाल,ओरेक ,स्वतन्त्र विद्यार्थी युनियन लगायतका प्रतिनिधिहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन।