Author: Baduli

  • खप्तडमा विद्युत सेवा विस्तार र अधुरो सडक कालोपत्रे हुने

    डोटी, असार १० । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य खप्तड मा विद्युत सेवा विस्तार गर्ने योजना आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत समावेश गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने उक्त योजनाका लागि १ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
    खप्तड क्षेत्रमा विद्युत सेवा विस्तारको विषयलाई प्राथमिकताका साथ अघि बढाउन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले लामो समयदेखि पहल गर्दै आएको थियो। समितिका कार्यकारी निर्देशक खेमराज जोशी को विशेष सक्रियता तथा सरोकारवाला निकायहरूसँगको निरन्तर समन्वयका कारण योजना बजेटमा समावेश हुन सफल भएको बताइएको छ।
    समितिका अनुसार यस अभियानलाई सफल बनाउन वैकुण्ठ अर्याल, विष्णु भण्डारी लगायत सम्बन्धित निकायका पदाधिकारीहरूको महत्वपूर्ण भूमिका रहेको छ। खप्तडलाई सुविधा सम्पन्न, व्यवस्थित तथा दिगो धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने साझा लक्ष्यअनुसार सञ्चालन गरिएको अभियानले महत्वपूर्ण सफलता हासिल गरेको कार्यकारी निर्देशक जोशीले बताउनुभयो।

    यसैबीच, समितिको पहलमा सिलगढी–बगलेख–झिग्राना सडकअन्तर्गत समितिको कार्यालयदेखि एनटिभी टावरसम्मको सडक कालोपत्रे हुने भएको छ। जग्गा विवादका कारण लामो समयदेखि रोकिएको उक्त सडक निर्माण कार्य समितिको समन्वयमा विवाद समाधान भएपछि प्रदेश सरकारले २ करोड बजेट विनियोजन गरेको निर्देशक जोशीले जानकारी दिनुभयो।
    सडक कालोपत्रे नहुँदा खप्तड भ्रमणमा जाने पर्यटक तथा स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए। सडक स्तरोन्नति तथा विद्युत सेवा विस्तारसँगै खप्तड क्षेत्रमा पर्यटन प्रवर्द्धन, स्थानीय जनजीवनमा सहजता तथा समग्र पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

  • शिखर नगरपालिकाद्वारा ७८ करोड ५१ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक

    डोटी । शिखर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७८ करोड ५१ लाख ८० हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, पूर्वाधार, सुशासन र डिजिटल प्रशासनलाई प्राथमिकतामा राख्दै बजेट ल्याइएको हो।
    नगरपालिकाले विशेषज्ञ सेवासहितको १५ शय्याको अस्पताल सञ्चालन, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, ९८ प्रकारका औषधि निःशुल्क वितरण तथा स्वास्थ्य बीमा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। शिक्षा क्षेत्रमा एआई प्रविधिसहितको शिक्षण प्रणाली, स्मार्ट बोर्ड जडान र विपन्न तथा दलित विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ।

    कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, “एक घर, एक उद्यमी” कार्यक्रम, शिखर चक्रपथ निर्माण तथा भूमिहीन र सुकुम्बासी व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। साथै, ई–गभर्नेन्स, अनलाइन कर प्रणाली, डिजिटल नागरिक बडापत्र र विद्युतीय भुक्तानी प्रणाली लागू गरिने नगरपालिकाले जनाएको छ।
    उपप्रमुख सुनिता रावल जोराले प्रस्तुत गरेको बजेटले दिगो विकास, आर्थिक समृद्धि र नागरिकमैत्री सेवा प्रवाहलाई मुख्य लक्ष्य बनाएको बताइएको छ।

  • सुदूरपश्चिमका तीन जिल्लामा ‘रीफेम’ परियोजना सुरु, २३ हजार हेक्टरभन्दा बढी भूभाग सुधार गर्ने लक्ष्य

    डोटी, असार ९

    सुबास नेपाली

    सुदूरपश्चिम प्रदेशका डोटी, बैतडी र दार्चुला जिल्लामा वन तथा पर्वतीय पारिस्थितिकीय प्रणालीको संरक्षण र स्थानीय समुदायको आर्थिक–सामाजिक विकासका लागि ‘सुदूरपश्चिम नेपालमा वन तथा पर्वतीय पारिस्थितिकीय प्रणाली पुनर्स्थापना (रीफेम–REFEM)’ परियोजना औपचारिक रूपमा सुरु गरिएको छ।
    डोटीमा आयोजित अभिमुखीकरण तथा शुभारम्भ कार्यशालामार्फत परियोजनाको सुरुआत गरिएको हो। ४८ महिनासम्म सञ्चालन हुने यस परियोजनाले क्षतिग्रस्त वन, कृषि भूमि, चुरे क्षेत्र, सिमसार तथा पर्वतीय पारिस्थितिकीय प्रणालीको पुनर्स्थापनामा केन्द्रित भएर काम गर्ने परियोजना संयोजक भोजराज पाठकले जानकारी दिनुभयो।
    परियोजनाअन्तर्गत ३ हजार ८ सय हेक्टर भूमि प्रत्यक्ष रूपमा पुनर्स्थापना गरिनेछ भने २३ हजार ७ सय ४७ हेक्टर भू–परिदृश्य क्षेत्रलाई सुधारिएको व्यवस्थापन अभ्यास अन्तर्गत ल्याइने लक्ष्य राखिएको छ। यसबाट करिब ९ लाख ७७ हजार ९ सय २७ मेट्रिक टन कार्बन डाइअक्साइड बराबरको हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
    त्यस्तै, परियोजनाबाट ८८ हजार २ सय ३२ जना स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ।
    पुनर्स्थापना गरिने क्षेत्रमध्ये १ हजार ३ सय हेक्टर सामुदायिक तथा लिजधनी वन, ५ सय हेक्टर महाभारत क्षेत्र, ५ सय हेक्टर चुरे तथा घाँसे मैदान, ५ सय हेक्टर सिमसार तथा नदीकिनार क्षेत्र र १ हजार हेक्टर कृषि भूमि समावेश गरिएको डिभिजन बन कार्यालयका कार्यालय प्रमुख गोकुल रिजालले बताउनुभयो ।
    परियोजना डोटीका आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र शिखर नगरपालिका, बैतडीका सिगास, डिलाशैनी र सुर्नया गाउँपालिका तथा पाटन नगरपालिका, साथै दार्चुलाका मालिकार्जुन, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा सञ्चालन हुनेछ।
    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सुदूरपश्चिम प्रदेशको कार्यान्वयन साझेदारीमा सञ्चालन हुने परियोजना डोटी, बैतडी र दार्चुलाका डिभिजन वन कार्यालयमार्फत कार्यान्वयन गरिनेछ।
    जीईएफ ट्रष्ट फण्डको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाको कुल बजेट २३ लाख ४६ हजार ४ सय ८३ अमेरिकी डलर रहेको छ भने १ करोड ४० लाख अमेरिकी डलर बराबरको सह–वित्तीय योगदान जुटाइने जनाइएको छ।
    परियोजनाले क्षमता अभिवृद्धि, सुशासन सुदृढीकरण, जैविक विविधता संरक्षण, प्रकृतिमा आधारित समाधानको विकास तथा सामुदायिक वन र कृषि समूहको सबलीकरणलाई प्राथमिकता दिएको छ। साथै किसान पाठशाला सञ्चालन, बिउ बैंक तथा नर्सरी स्थापना लगायतका कार्यक्रमसमेत सञ्चालन गरिनेछन्।
    रीफेम परियोजनाले वन तथा प्राकृतिक स्रोत संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन सुधार, वातावरणीय दिगोपना प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

  • दिपायल सिलगढी नगरपालिकाद्वारा १ अर्ब ११ करोडभन्दा बढीको बजेट प्रस्तुत

    डोटी, असार ८

    सुबास नेपाली

    दिपायल सिलगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ११ करोड ५७ लाख ९८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको एक्काइसौँ नगरसभामा उपप्रमुख कलावती महर साउद ले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
    प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ४६ करोड ७८ लाख ५० हजार रुपैयाँ तथा पूँजीगत खर्चतर्फ ६४ करोड ७९ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको छ। कुल बजेटको करिब ४१.९३ प्रतिशत चालु र ५८.०७ प्रतिशत पूँजीगत खर्चका लागि छुट्याइएको नगरपालिकाले जनाएको छ।
    बजेटका लागि मुख्य स्रोतका रूपमा संघीय सरकारबाट प्राप्त हुने अनुदान, प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय तथा बैंक मौज्दातलाई आधार बनाइएको छ। संघीय सरकारबाट ८८ करोड ५६ लाख, प्रदेश सरकारबाट ७ करोड २ लाख ६८ हजार, राजस्व बाँडफाँडबाट ११ करोड ४४ लाख ३१ हजार, आन्तरिक आयबाट १ करोड ५४ लाख ९९ हजार तथा बैंक मौज्दातबाट ३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
    “समृद्ध, व्यवस्थित र आत्मनिर्भर दिपायल सिलगढी नगरपालिका निर्माण” भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै बजेट तयार गरिएको नगरपालिकाले जनाएको छ। बजेटले भौतिक पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, कृषि तथा पशुपालनको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, महिला तथा युवाको क्षमता विकास र सुशासनलाई प्राथमिकतामा राखेको छ।
    नगरपालिकाले सडक, सिँचाइ, भवन तथा खेलमैदान निर्माणलाई निरन्तरता दिने, विश्व बैंकको सहयोगमा खानेपानी क्षेत्रको पूर्वाधार विकास कार्यक्रम सम्पन्न गर्ने, विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्ने तथा स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने योजना अघि सारेको छ।
    यस्तै, स्थानीय उत्पादन वृद्धि, किसान प्रोत्साहन, सीप विकास, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण, पर्यटन पूर्वाधार विस्तार तथा डिजिटल सेवा प्रवाहलाई पनि बजेटले विशेष महत्व दिएको छ।

  • दिपायल सिलगढी नगरपालिकाद्वारा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत: कृषि, शिक्षा ,पूर्वाधार ,खानेपानी तथा पर्यटन विकासमा जोड

    डोटी ,असार ७
    सुबास नेपाली
    दिपायल सिलगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन तथा सुशासनलाई केन्द्रमा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको २१ औँ अधिवेशनमा नगर प्रमुख बाजी सिंह खड्का ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दिपायल सिलगढीलाई “स्वच्छ, शिक्षित र समुन्नत नगर” बनाउने लक्ष्य निर्धारण गरिएको छ।
    नीति तथा कार्यक्रमले कृषिको व्यवसायीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, भूकम्प प्रभावित परिवारको पुनर्निर्माण, पर्यटन प्रवर्द्धन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। नगरभित्र खेतीयोग्य जमिन बाँझो राख्न नपाइने व्यवस्था, कपास खेती प्रवर्द्धन, शीतगृह सञ्चालनको निरन्तरता तथा भैँसी बिमा कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
    शिक्षा क्षेत्रतर्फ “ग्रीन स्कुल, क्लिन स्कुल” अवधारणा कार्यान्वयन, शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन, विज्ञान संकाय सञ्चालन गर्ने विद्यालयलाई सहयोग तथा प्रस्तावित इन्जिनियरिङ क्याम्पसको पूर्वाधार निर्माणमा सहकार्य गर्ने नीति लिइएको छ। विद्यालय दिवा खाजालाई स्थानीय कृषि उत्पादनसँग जोडेर सञ्चालन गरिने जनाइएको छ।
    स्वास्थ्य तथा सामाजिक सुरक्षाअन्तर्गत न्यून आय भएका एक हजार विपन्न परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गराइने, लैङ्गिक हिंसा प्रभावित महिलाका लागि सञ्चालित सेवा केन्द्रलाई निरन्तरता दिने तथा छाउपडी र जातीय छुवाछूतविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिने कार्यक्रम समेटिएको छ।

    भूकम्प प्रभावित परिवारको पुनर्निर्माणलाई प्राथमिकता दिँदै ९७४ घरधुरीको पुनर्निर्माण, प्रवलीकरण तथा मर्मत कार्य अगाडि बढाउन विशेष एकाइ गठन गरिने भएको छ। साथै फुस तथा खरका छाना भएका विपन्न परिवारका लागि सुरक्षित आवास निर्माणमा संघ र प्रदेश सरकारसँग सहकार्य गरिने उल्लेख छ।
    पर्यटन तथा संस्कृति संरक्षणतर्फ बडीमालिका पूजासँग सम्बन्धित दिपायलको भुरुडी तथा डोटीको पेटारो लैजाने परम्परालाई व्यवस्थित गरिने, बाइसधारा–दिल्पेश्वर मठ–सिलगढी पुरानो बजार क्षेत्रलाई सांस्कृतिक शहरका रूपमा विकास गर्ने तथा आगामी दुई वर्षभित्र सबै नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
    यस्तै, नगरभित्र निर्माण हुने नयाँ घरमा राष्ट्रिय भवन संहिता अनिवार्य लागू गरिने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइने, राजस्व सुधार योजना कार्यान्वयन गरिने तथा योजना तर्जुमा र कार्यान्वयनमा नागरिक सहभागिता बढाउन “नागरिक सहभागिता नीति” लागू गरिने जनाइएको छ।
    नगर प्रमुख खड्काले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था तथा आम नगरवासीको सहयोग र रचनात्मक सुझावको अपेक्षा व्यक्त गर्नुभएको छ।

  • जिल्ला अस्पताल डोटीका एमडिजिपी डा. श्रवण कुमार यादवलाई बिदाइ तथा सम्मान

    डोटी, असार २
    सुबास नेपाली
    जिल्ला अस्पताल डोटीमा विशेषज्ञ छात्रवृत्ति करार सेवा अन्तर्गत कार्यरत एमडिजिपी डा. श्रवण कुमार यादवलाई आज एक कार्यक्रमका बीच बिदाइ तथा सम्मान गरिएको छ। अस्पताल परिवार र दिपायल सिलगढी नगरपालिका–६ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा उहाँलाई सम्मानसहित बिदाइ गरिएको हो।
    वि.सं. २०८१ असार ३ गतेदेखि जिल्ला अस्पताल डोटीमा कार्यरत रहनुभएका डा. यादवले आफ्नो कार्यकालभर स्वास्थ्य संस्थाप्रति उच्च जिम्मेवारीबोध, व्यावसायिक दक्षता तथा सेवाग्राहीप्रति समर्पित भावनाका साथ सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत बोहराले जानकारी दिए।
    कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका–६ का वडा अध्यक्ष नरेश मलासीले कठिन परिस्थितिमा समेत निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै बिरामीहरूको विश्वास जित्न सफल भएको भन्दै डा. यादवको योगदानको प्रशंसा गरे। उनले वडा कार्यालयको तर्फबाट पनि सम्मान व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता प्राप्त गर्न शुभकामना दिए।
    बिदाइ कार्यक्रममा सहभागीहरूले डा. यादवको मानवीय सेवाभाव, पेशाप्रतिको निष्ठा तथा स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरेका थिए। कार्यक्रममा उहाँको उज्ज्वल व्यक्तिगत तथा व्यावसायिक भविष्यको कामना समेत गरिएको थियो।

  • केदारेश्वर माविमा राष्ट्रिय सेवा दलको सि.सं. ५२ जुनियर डिभिजन एन सि सि तालिम शुभारम्भ

    डोटी, असार १
    सुबास नेपाली
    डोटी जिल्लाको शिखर नगरपालिका–१ स्थित केदारेश्वर माध्यमिक विद्यालयमा श्री राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. ५२ जुनियर डिभिजन एन सि सि तालिम औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
    तालिमको प्रथम प्रवचन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा तालिमका लागि छनोट भएका विद्यार्थीहरूको सहभागिता रहेको थियो। “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शलाई आत्मसात गर्दै युवाहरूमा अनुशासन, इमान्दारिता, राष्ट्रिय एकता तथा नेतृत्व क्षमताको विकास गर्नु तालिमको प्रमुख उद्देश्य रहेको भैरव प्रसाद गणका निमित्त गणपति सेनानी लोक बहादुर बोगटीले बताउनुभयो ।

    १०० दिन अवधिको उक्त तालिममध्ये ७९ दिन संस्थागत तथा २१ दिन सामूहिक क्याम्प सञ्चालन गरिने जनाइएको छ। तालिमका क्रममा विद्यार्थीहरूले ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स, फिल्ड क्राफ्ट, म्याप रिडिङ, मोडल ब्रिफिङ तथा पब्लिक स्पिकिङलगायत विषयमा ज्ञान हासिल गर्नेछन्। साथै सामूहिक क्याम्पमा विपद् व्यवस्थापन, ट्राफिक सचेतना, नेपालको सीमा सम्बन्धी जानकारी तथा विभिन्न विषयका विज्ञद्वारा प्रशिक्षण प्रदान गरिनेछ।
    कार्यक्रममा राष्ट्रिय सेवा दलको तालिम सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने विद्यालय परिवार, शिक्षक तथा अभिभावकप्रति धन्यवाद व्यक्त गरिएको थियो। सो अवसरमा केदारेश्वर माविमा सञ्चालन हुने सि.सं. ५२ जुनियर डिभिजन एन सि सि तालिम आजैदेखि विधिवत् रूपमा शुभारम्भ भएको घोषणा समेत गरिएको छ।
    तालिममा १५ जना छात्रा र १५ जना छात्र गरि ३० जना सहभागी रहेका छन।

  • डोटी गोल्ड कप–२०८३ दोस्रो संस्करण सुरु

    डोटी, जेठ २९ ।
    डोटी जिल्लामा विद्यालयस्तरीय फुटबल खेलको विकास तथा खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यले “डोटी गोल्ड कप–२०८३” दोस्रो संस्करण अन्तर्गत डोटी जिल्ला विद्यालयस्तरीय यू–१६ पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।
    शिलास्थान युवा क्लब (एस.वाई.सी.), सिलगढी को आयोजनामा सञ्चालन भएको प्रतियोगिता आजदेखि असार ३१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक दिपायल सिलगढी नगरपालिका रहेको छ।
    खेलकुदद्वारा हाम्रो एकता, लागू औषधविरुद्ध हाम्रो साझा प्रतिबद्धता” भन्ने मूल नारासहित सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ८ विद्यालयका यू–१६ उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको छ। विद्यालयस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै डोटीमा फुटबल खेलको विकास र खेल संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासी ले बताए।

    प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ३० हजार रुपैयाँ, द्वितीय हुने टोलीलाई नगद १५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
    प्रतियोगिताको उद्घाटन दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का ले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा नगर प्रमुख खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहरा, श्री भैरव प्रसाद गणका सेनानी लोकबहादुर बोगटी, प्रहरी नायब उपरीक्षक रणबहादुर चन्द, वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासी, वडा नं. ७ का वडा अध्यक्ष कर्णबहादुर बिष्ट लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सेनानी तथा प्रहरी नायब उपरीक्षकलाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। उद्घाटन समारोहमा वक्ताहरूले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक मार्गतर्फ उन्मुख गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले जिल्लाको खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

  • नेपाली सेनाले तिखा (मालिका) गढीमा मर्मत तथा निर्माण गरिएका संरचना नगरपालिकालाई हस्तान्तरण।

    डोटी, २६ जेठ
    सुबास नेपाली
    डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ स्थित ऐतिहासिक तिखा गढी क्षेत्रमा नेपाली सेनाद्वारा निर्माण गरिएका भौतिक संरचनाहरू नगरपालिकालाई हस्तान्तरण गरिएको छ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने उक्त गढीको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएका संरचनाहरू एक कार्यक्रमका बीच श्री नं ५ बाहिनी अडडाका बाहिनीपति सहायक रथी सरोज कुमार अधिकारीले दिआअयल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खडकालाई हस्तान्तरण गर्नुभएको हो।

    तिखा गढी सुदूरपश्चिम प्रदेशका अन्य गढीहरूको तुलनामा मजबुत र फराकिलो संरचना भएको गढीका रूपमा परिचित छ। ठूला–ठूला ढुङ्गाको प्रयोग गरी फराकिलो पर्खालसहित निर्माण गरिएको यस गढीका भग्नावशेषहरूले यसको ऐतिहासिक महत्वलाई स्पष्ट रूपमा झल्काउँछन्। इतिहासअनुसार नेपाल एकीकरणको क्रममा वि.सं. १८४७ भदौ ३१ गते तत्कालीन शाही नेपाली सेनाले डोटी राज्यमाथि कब्जा गरेको थियो। त्यसबेला डोटी राज्यका राजा दीप शाही आफ्ना छोरा पृथपति शाही तथा परिवारसहित भारततर्फ पलायन भएपछि गढी संरक्षणको अभावमा जीर्ण बन्दै गएको मानिन्छ।
    नेपाल एकीकरणका क्रममा तत्कालीन शाही नेपाली सेनाले समेत प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको यस गढी परिसरमा मालिका भगवतीको मन्दिर अवस्थित रहेकाले यसलाई “मालिका गढी” नामले पनि चिनिन्छ।

    धार्मिक आस्थासँग जोडिएको यस स्थलले स्थानीय समुदायको सांस्कृतिक पहिचानलाई समेत प्रतिनिधित्व गर्दै आएको छ।
    कार्यक्रममा बोल्दै नेपाली सेनाका प्रतिनिधिहरूले नेपाली सेनाले देशका विभिन्न स्थानहरूमा “शीघ्र प्रभावी आयोजना (QIPs)” अन्तर्गत आवश्यक भौतिक संरचनाहरू निर्माण गरी स्थानीय निकायलाई हस्तान्तरण गर्दै आएको जानकारी दिए। सोही कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट तिखा गढी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरिएको जनाइएको छ।

    दिपायल सिलगढी नगरपालिकासँगको समन्वय तथा सहकार्यमा, सुदूरपश्चिम पृतना मुख्यालयको निर्देशन र नं. ५ बाहिनी अड्डाको सुपरिवेक्षणमा श्री भैरव प्रसाद गणका सकल दर्जाहरूको अथक योगदानबाट निर्माण कार्य सम्पन्न गरिएको हो। मिति २०८२ मंसिर २५ गतेदेखि सुरु भएको निर्माण कार्य २०८३ जेठ १८ गते सम्पन्न भएको थियो।
    नेपाली सेनाले निर्माण सम्पन्न संरचनाहरू दिपायल सिलगढी नगरपालिकालाई हस्तान्तरण गर्दै ऐतिहासिक धरोहर, स्थानीय संस्कार तथा धार्मिक परम्पराको संरक्षणमा स्थानीय समुदायसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, गढी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनले पर्यटन विकासमा टेवा पुर्‍याउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजिसिं खडकाले बताउनुभयो ।
    तिखा (मालिका) गढीको संरक्षण तथा विकासका लागि नेपाली सेनाले गरेको कार्य स्वागतयोग्य रहेको बताउँदै यसले ऐतिहासिक सम्पदाको जगेर्ना र भावी पुस्तालाई इतिहासबारे जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।
    हस्तान्तरण कार्यक्रममा जिल्ला स्थित सुरक्षा समितीका पदाधिकारीहरु,स्थानिय लगायतको उपस्थिति रहेको थियो।

  • श्रीमान विदेशिएपछि श्रीमतीको विरह कथा समेटिएको ‘चिया बगान’ सार्वजनिक

    काठमाडौं
    तिर्थ नेपाली
    गायक अनमोल बस्नेत र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको लोकदोहोरी गीत ‘चिया बगान’ सार्वजनिक भएको छ। डम्बर विश्वकर्माको शब्द सिर्जना तथा धन बीसीको संगीत रहेको गीत डम्बर विश्वकर्माको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    वैदेशिक रोजगारीका कारण परिवारमा आउने दूरी, एक्लोपन र भावनात्मक पीडालाई केन्द्रमा राखेर तयार गरिएको गीतको भिडियोले दर्शकको मन छुने प्रयास गरेको छ। भिडियोमा रोजगारीका लागि श्रीमान विदेशिएपछि घरमा एक्लिएकी श्रीमतीको प्रतीक्षा, विरह र भावविहल अवस्थालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

    गीतमा वैदेशिक रोजगारीले नेपाली समाज र परिवारमा पार्ने प्रभावलाई कथावस्तु बनाइएको छ। विशेषगरी श्रीमानको सम्झनामा दिन बिताइरहेकी श्रीमतीको मनोदशा र पुनर्मिलनको आशालाई भिडियोमार्फत देखाइएको छ।

    गीतको भिडियोमा डम्बर विश्वकर्मा र उर्मिला पन्तको अभिनय रहेको छ। बिपिन चौलागाईंको निर्देशन तथा छायांकन रहेको भिडियोको सम्पादन र रंग संयोजन राजेश कुमारले गरेका छन्। साक्ष्यम पुडासैनी मेकअप आर्टिस्ट रहेका छन् भने भिडियो बैंकले पोस्ट प्रोडक्सनको काम गरेको छ।

    गीतको संगीत संयोजन अनमोल बस्नेतले गरेका हुन्। खडक बाजुरेलीले मिक्सिङ तथा मास्टरिङ गरेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो।

    सार्वजनिक भएको छोटो समयमै ‘चिया बगान’ले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। ग्रामीण परिवेश र वैदेशिक रोजगारीको यथार्थलाई समेटिएको यस गीतले धेरै नेपाली परिवारको भोगाइलाई प्रतिबिम्बित गरेको छ।